काठमाडौँ । भारतको सर्वोच्च अदालतले चेक बाउन्स प्रकरणमा भुक्तानीसम्बन्धी आफ्नो आदेश समयमै पालना नगरेको भन्दै अभिनेता राजपाल यादवप्रति कडा असन्तुष्टि व्यक्त गरेको छ।
सोमबार भएको सुनुवाइका क्रममा अदालतमा ५० लाख रुपैयाँको डिमान्ड ड्राफ्टको फोटोकपी मात्र पेस भएपछि न्यायाधीशले यादवप्रति आक्रोश व्यक्त गरेका हुन्।
‘बार एन्ड बेन्च’का अनुसार सुनुवाइ गरिरहेका न्यायाधीश जोयमाल्या बागचीले यादवलाई कडा शब्दमा चेतावनी दिँदै भने, ‘तपाईंको ठाउँ जेलमा हो।’ उनले अदालतको आदेशको पालना गर्न र परिस्थितिको गम्भीरता बुझ्नसमेत यादवलाई सचेत गराएका थिए।
अदालतले यादवको याचिका खारेज गर्न सक्ने अवस्था रहे पनि उजुरीकर्ताले आफ्नो रकम पाउनुपर्ने भएकाले तत्काल त्यसो नगरेको स्पष्ट पारेको छ। उक्त प्रकरणमा कुल ७ करोड ५० लाख रुपैयाँ बराबरको रकम विवादमा रहेको बताइएको छ।
सर्वोच्च अदालतले यादवलाई बाँकी रकम जुनसुकै अवस्थामा पनि भोलिसम्म भुक्तानी गर्न निर्देशन दिएको छ। मुद्दाको अर्को सुनुवाइ पर्सिका लागि तोकिएको छ भने उक्त दिनको कार्यसूचीमा यस मुद्दालाई सबैभन्दा माथि राखिने अदालतले जनाएको छ।
यो विवाद चेक बाउन्स तथा ऋण भुक्तानीमा भएको ढिलाइसँग सम्बन्धित छ। अदालतले आफ्नो आदेशको समयमै पालना गर्नुपर्ने र त्यसमा लापरबाही स्वीकार्य नहुने स्पष्ट सन्देश दिएको छ।
पाँच करोड रुपैयाँ ऋण लिएको आरोप
सन् २०१० मा राजपाल यादवले आफ्नो चलचित्र ‘अता पता लापता’ निर्माणका लागि ‘मुरली प्रोजेक्ट्स प्राइभेट लिमिटेड’बाट करिब पाँच करोड रुपैयाँ ऋण लिएको बताइएको छ।
चलचित्रले अपेक्षित व्यावसायिक सफलता हासिल गर्न नसकेपछि यादवले कम्पनीको ऋण फिर्ता गर्न नसकेको दाबी गरिएको छ। त्यसपछि ऋण भुक्तानीका लागि जारी गरिएको चेक बाउन्स भएपछि विवाद अदालतसम्म पुगेको हो।
यसै प्रकरणमा दिल्ली उच्च अदालतले यसअघि यादवलाई तीन महिनाको जेल सजाय समेत सुनाएको थियो।