काठमाडौं । यमनको सशस्त्र बलले आइतबार बिहान राजधानी साना र हुती विद्रोहीहरूको मुख्य गढ मानिने सादा क्षेत्रमा आक्रमण गरिरहेको जनाएको छ।
अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमन सरकारको समर्थनमा रहेको यमनी सेनाले हुती विद्रोहीका विभिन्न स्थानलाई लक्षित गरी सैन्य कारबाही गरिरहेको जनाएको हो।
बीबीसी न्यूज फारसीका अनुसार यमनी सेनाका एक प्रवक्ताले समाचार एजेन्सी रोयटर्सलाई सैन्य बलले ‘महत्त्वपूर्ण लक्ष्यहरू’लाई निशाना बनाइरहेको बताएका छन्। यद्यपि उनले आक्रमणका लक्षित स्थान र क्षतिबारे थप विवरण सार्वजनिक गरेका छैनन्।
यसअघि हुती विद्रोहीसमर्थित अल–मसिराह टेलिभिजनले राजधानी सानामा आक्रमण भएको जनाएको थियो। उक्त आक्रमण साउदी अरबले गरेको दाबी प्रसारणमार्फत गरिएको थियो। तर, साउदी अरबले हालसम्म उक्त दाबीको पुष्टि गरेको छैन।
यमनमा इरानसमर्थित हुती विद्रोही र साउदी अरबसमर्थित सरकारसँग आबद्ध सेनाबीच लामो समयदेखि द्वन्द्व हुँदै आएको छ। सन् २०२२ मा भएको युद्धविरामपछि हिंसात्मक गतिविधि केही हदसम्म रोकिएको भए पनि पछिल्लो समय क्षेत्रीय तनावका कारण द्वन्द्व पुनः चर्किएको बताइएको छ।
यमनमा पछिल्लो सैन्य गतिविधिले क्षेत्रीय तनाव थप बढ्ने चिन्ता उत्पन्न भएको छ। यद्यपि पछिल्लो आक्रमणको विस्तृत अवस्था, क्षति तथा हताहतीबारे तत्काल स्वतन्त्र पुष्टि हुन सकेको छैन।