स्पेनमा भीषण वर्षापछि बाढीको उच्च जोखिम, यात्रा प्रतिबन्ध

स्पेनमा भीषण वर्षापछि बाढीको उच्च जोखिम, यात्रा प्रतिबन्ध

म्याड्रिड । अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि स्थानीय अधिकारीहरूले सर्वसाधारणलाई अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह गर्दै कडा प्रतिबन्ध लगाएका छन्।

अवस्था गम्भीर बनेपछि कातालोनिया क्षेत्रमा बाढीसम्बन्धी आपत्कालीन योजना सक्रिय गरिएको छ। २० भन्दा बढी प्रशासनिक क्षेत्रमा यात्रा प्रतिबन्ध लागू गरिएको छ भने सुरक्षालाई ध्यानमा राख्दै अधिकांश यात्रुवाहक तथा क्षेत्रीय रेल सेवा स्थगित गरिएको छ।

मौसमविद्हरूका अनुसार प्रभावित क्षेत्रमा मौसमको जोखिम उच्चतम तहमा पुगेको छ। केही स्थानमा तीन घण्टामै ९० मिलिमिटरभन्दा बढी तथा २४ घण्टाभित्र २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रका बासिन्दाको मोबाइल फोनमा आपत्कालीन सतर्कता सन्देश पठाइएको छ।

कातालोनियाका क्षेत्रीय राष्ट्रपति साल्भाडोर इयाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अपिल गरेका छन्। मौसम विभागले भारी मेघगर्जन, तीव्र हावाहुरी तथा पानीका बवण्डर (टोर्नाडो) आउन सक्ने चेतावनी दिएको छ। उक्त आँधी उत्तरतर्फ सर्दै गएको जनाइएको छ।

बाढीका कारण १०२ वर्षीया वृद्धाको मृत्यु

यसैबीच, मध्य–पूर्वी स्पेनको अल्बासेते प्रान्तस्थित माद्रिगेरासमा आएको आकस्मिक बाढीका कारण १०२ वर्षीया एक वृद्धाको मृत्यु भएको छ।

करिब दुई घण्टामै प्रतिवर्गमिटर १४० मिलिमिटरभन्दा बढी वर्षा भएपछि आएको भीषण बाढीले स्थानीय घर, सवारीसाधन तथा सार्वजनिक पूर्वाधारमा व्यापक क्षति पुर्‍याएको छ।

बाढी प्रभावित क्षेत्रबाट करिब ९० जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। बाढीका कारण स्थानीय स्वास्थ्य केन्द्र जलमग्न भएपछि त्यहाँको सेवा अवरुद्ध भएको छ। अहिले रेडक्रसको परिसरबाट अस्थायी रूपमा स्वास्थ्य सेवा सञ्चालन भइरहेको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!