स्पेनमा नोभेम्बर २९ मै आमनिर्वाचन, प्रधानमन्त्री साञ्चेजद्वारा आकस्मिक घोषणा

स्पेनमा नोभेम्बर २९ मै आमनिर्वाचन, प्रधानमन्त्री साञ्चेजद्वारा आकस्मिक घोषणा

काठमाडौं । स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजले आगामी २९ नोभेम्बर २०२६ मा आमनिर्वाचन गराउने घोषणा गरेका छन्।

स्पेनमा नियमित कार्यतालिकाअनुसार आगामी आमनिर्वाचन सन् २०२७ को गर्मीयाममा हुनुपर्ने थियो। तर प्रधानमन्त्री साञ्चेजले सोमबार संसद् विघटन गरी निर्धारित समयभन्दा अघि नै निर्वाचन गराउने घोषणा गरेका हुन्।

स्पेनमा पछिल्लो समय बढ्दै गएको आवास सङ्कट र महँगो घरभाडाका विषयमा सरकारमाथि दबाब बढ्दै आएको थियो। विशेषगरी ८७ वर्षीया एक महिलाको घरभाडा ५०० युरोबाट बढाएर २ हजार ६५० युरो पुर्‍याइएको घटना सार्वजनिक भएपछि देशभर विरोध प्रदर्शन भएका थिए।

पछि उक्त घरभाडा घटाएर १ हजार ६५० युरो कायम गरिएको थियो। तर उनको मासिक पेन्सन १ हजार ३५० युरो रहेकाले नयाँ भाडा उनको आम्दानीभन्दा ३०० युरो बढी थियो। उक्त घटनाले स्पेनमा आवासको बढ्दो लागत र ज्येष्ठ नागरिकको आवास सुरक्षाबारे व्यापक बहस निम्त्याएको थियो।

आवास सङ्कट समाधान गर्न प्रधानमन्त्री साञ्चेज नेतृत्वको सरकारले विभिन्न प्रस्ताव अघि सारे पनि ती प्रस्तावले संसद्मा आवश्यक समर्थन जुटाउन नसकेपछि अस्वीकृत भएका थिए।

साञ्चेज सन् २०१८ देखि स्पेनको प्रधानमन्त्रीका रूपमा रहँदै आएका छन्। आगामी निर्वाचनका सम्बन्धमा सार्वजनिक भइरहेका विभिन्न सर्वेक्षणहरूले भने कन्जरभेटिभ दलले सबैभन्दा बढी सिट प्राप्त गर्न सक्ने देखाएका छन्।

लिङ्क सफलतापूर्वक कापि गरियो!