तेहरान । इरानको इस्लामिक रिभोलुसन गार्ड कर्प्स (आईआरजीसी) को नौसेनाले पछिल्लो पाँच दिनमा होर्मुज जलडमरूमध्यमा कम्तीमा सातवटा तेल ट्यांकरलाई निशाना बनाएको दाबी गरिएको छ।
इरानी अर्धसरकारी समाचार एजेन्सी फर्सका अनुसार आईआरजीसीले पछिल्ला दिनमा औसतमा दैनिक एकभन्दा बढी तेल ट्यांकरमाथि आक्रमण गरिरहेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्य पूर्ण रूपमा खुला रहेको र अमेरिकाको नियन्त्रणमा रहेको दाबी गरिरहेका बेला इरानले जलमार्गमा सैन्य गतिविधि बढाएको हो।
फर्सले स्वतन्त्र सैन्य पर्यवेक्षक ‘मेन्चओसिन्ट’लाई उद्धृत गर्दै शुक्रबार मात्रै जलडमरूमध्यमा दुईवटा तेल ट्यांकरमा शक्तिशाली विस्फोट भएको जनाएको छ। तीमध्ये एउटा ट्यांकर जलमार्गको प्रवेशद्वारनजिक र अर्को बाहिरिने क्रममा रहेको अवस्थामा आक्रमणमा परेको बताइएको छ।
पर्यवेक्षक मेन्चओसिन्टका अनुसार पछिल्ला चार दिनमा कुवेतका ‘अल फुन्टास’ र ‘काजिमाह–३’ तथा संयुक्त अरब इमिरेट्स (यूएई) का ‘सिनबाड’, ‘मेर्सिन प्रोस्पेरिटी’ र ‘अल रुवाइस’ नामका तेल ट्यांकर प्रभावित भएका छन्।
अन्तर्राष्ट्रिय समाचार संस्था सिन्ह्वाका अनुसार इरानले फेब्रुअरी २८ देखि नै रणनीतिक महत्त्वको होर्मुज जलडमरूमध्यमा निगरानी, सैन्य उपस्थिति र नियन्त्रण थप कडा बनाएको छ।
इरानी भूभागमा भएको संयुक्त हमलापछि इरानले इजरायल र अमेरिकासँग सम्बन्धित वा ती देशसँग जोडिएका जहाजलाई सुरक्षित मार्ग उपलब्ध नगराउने तथा त्यस्ता जहाजको आवागमन रोक्ने नीति लिएको स्पष्ट पारेको छ।
विश्वको महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने होर्मुज जलडमरूमध्यमा बढ्दो सैन्य गतिविधिले अन्तर्राष्ट्रिय समुद्री यातायात तथा ऊर्जा आपूर्तिमा थप जोखिम सिर्जना गरेको छ।