काठमाडौं । अस्ट्रेलियाले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको विमान नियन्त्रणमा लिन प्रयास गरेको आरोप लागेका सह-पाइलटको अस्ट्रेलियासँगको सम्बन्धबारे अनुसन्धान थालेको छ।
उक्त उडानका क्रममा सह-पाइलटले विमानका क्याप्टेनमाथि आपत्कालीन अवस्थामा प्रयोग हुने बन्चरोले आक्रमण गरेको आरोप लागेको छ। त्यसपछि यात्रु र चालक दलका सदस्यहरूले उनलाई नियन्त्रणमा लिएका थिए। घटनापछि विमानलाई सुरक्षित रूपमा अवतरण गराइएको थियो।
अस्ट्रेलियाली अधिकारीहरूले सह-पाइलटको पहिचान औपचारिक रूपमा सार्वजनिक गरेका छैनन्। यद्यपि रोयटर्स, सीएनएन र द न्युयोर्क टाइम्सलगायतका सञ्चारमाध्यमले उनको नाम हामाम अल–हमामी रहेको जनाएका छन्।
संयुक्त अरब इमिरेट्सका अभियोजकले घटनाको कारण र त्यससँग जोडिएका अन्य विषयमा विस्तृत अनुसन्धान भइरहेको बताएका छन्।
बीबीसीलाई दिएको प्रतिक्रियामा अस्ट्रेलियाली फेडरल पुलिस (एएफपी)ले उक्त व्यक्तिको ‘अस्ट्रेलियासँगको सम्बन्ध’बारे अनुसन्धान भइरहेको पुष्टि गरेको छ। एएफपीका अनुसार अनुसन्धानमा राज्य प्रहरी र देशका सुरक्षा निकायसमेत संलग्न छन्। अनुसन्धानसम्बन्धी थप जानकारी उपयुक्त समयमा सार्वजनिक गरिने प्रहरीले जनाएको छ।
घटनाबारे जानकार स्रोतलाई उद्धृत गर्दै अस्ट्रेलियाली सञ्चारमाध्यमले सह-पाइलटलाई सन् २०१४ मा विद्यार्थी भिसा जारी गरिएको बताएका छन्। उनले सन् २०१५ देखि २०१७ सम्म अस्ट्रेलियामा अध्ययन गरेको र त्यसपछि देश छाडेको बताइएको छ।
अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी)का अनुसार कुनै पनि शैक्षिक कार्यक्रममा भर्ना नभएको र विद्यार्थी भिसाका लागि आवश्यक योग्यता पूरा नगरेको कारण सन् २०१९ मा उनको विद्यार्थी भिसा रद्द गरिएको थियो।
घटनापछि सह-पाइलटको विगत, अस्ट्रेलियासँगको सम्बन्ध तथा सम्भावित उद्देश्यबारे सम्बन्धित निकायहरूले थप अनुसन्धान गरिरहेका छन्।