इलाम । इलाममा आजदेखि दुई दिने ‘प्रथम सूर्योदय चिया महोत्सव–२०८३’ सुरु हुँदैछ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको साझेदारीमा सूर्योदय नगरपालिकास्थित कन्याममा महोत्सव आयोजना हुन लागेको हो ।
महोत्सवको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री खिनु लङ्वा (लिम्बू)ले गर्ने कार्यक्रम छ । चिया पर्यटन प्रवर्द्धन तथा सूर्योदय नगरपालिकामा निर्माणाधीन चिया पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको सूर्योदय चिया महोत्सव कार्यक्रम व्यवस्थापन समिति संयोजक एवं वडा नं. १० का अध्यक्ष पेमा उगेन लामाले बताए ।
“चिया पर्यटन प्रवर्द्धन गर्न र सूर्योदय नगरपालिकामा निर्माणाधीन चिया पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यले पहिलोपटक महोत्सव आयोजना गर्न लागिएको हो”, उनले भने, “यहाँ आन्तरिक र बाह्य गरी १० हजारभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।”
आइतबारसम्म सञ्चालन हुने महोत्सवमा ‘टी ट्रेल रेस’, चियासम्बन्धी अन्तरसंवाद, चिया प्रवर्द्धन तथा स्वाद परीक्षण, चियाबारी ट्रेल पदयात्रा, स्थानीय खाना तथा परिकारको प्रदर्शनी र सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ । त्यस्तै, स्थानीय खाद्य परिकारका कक्षसहित सूर्योदय नगरपालिका क्षेत्रभित्र उत्पादन हुने विभिन्न ब्रान्डका चियाको प्रदर्शनी, टेस्टिङ तथा बजारीकरणको व्यवस्था गरिने संयोजक लामाले बताए ।
महोत्सवमा पुरुष र महिलातर्फ छुट्टाछुट्टै टी ट्रेल रेस प्रतियोगिता सञ्चालन हुनेछ । पुरुषतर्फ कन्याममा १२ दशमलव ५ किलोमिटर र महिलातर्फ नौ किलोमिटर दूरीको प्रतियोगिता हुनेछ । पुरुषतर्फ प्रथम हुनेले ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । महिलातर्फ प्रथम हुनेले २० हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले पाँच हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र स्वीस सरकारको सहयोगमा सञ्चालित पदमार्गमा आधारित पर्यटन विकास परियोजनामार्फत सूर्योदय नगरपालिका वडा नं. ७ कन्यामदेखि वडा नं. ५ श्रीअन्तुसम्म २५ दशमलव ५ किलोमिटर चिया पदमार्ग निर्माण भइरहेको छ । सोही पदमार्गको प्रचारप्रसारका लागि महोत्सव आयोजना गरिएको हो ।
महोत्सव सञ्चालनका लागि करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सूर्योदय नगरपालिका–७ मा अवस्थित कन्याम जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र हो । चारैतिर हरियाली चियाबारीले सजिएको कन्याममा वनभोज, घोडचढी, फोटो तथा भिडियो खिच्न र दृश्यावलोकनका लागि दैनिक ठूलो सङ्ख्यामा पर्यटक पुग्ने गर्छन् ।
रमणीय प्राकृतिक सौन्दर्यले भरिपूर्ण कन्याम मेची राजमार्गको पहुँचमा रहेको छ । झापाको चारआलीबाट मोडिएर करिब एक घण्टाको यात्रामा कन्याम पुग्न सकिन्छ ।