बुटवल । देउसी–भैलो कार्यक्रमका क्रममा सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले दुई महिलालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताविपरीत हुने गरी देउसी–भैलो कार्यक्रममा नृत्य प्रदर्शन गरेको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार गएराति इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित महिलावार बजारबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ति बस्नेत रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार उनीहरूमाथि सार्वजनिक हित तथा नैतिकताविरुद्धको कसुरमा थप अनुसन्धान भइरहेको छ।
प्रहरीले परम्परागत देउसी–भैलो कार्यक्रममार्फत नेपाली मौलिक कला, संस्कृति र सामाजिक सद्भावको संरक्षण गर्न आग्रह गरेको छ। साथै, सार्वजनिक स्थानमा स्वेच्छाचारी तथा अमर्यादित रूपमा अश्लील नृत्य, गीत तथा संगीत प्रदर्शन गरेमा प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ।