काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जलवायुजन्य विपद्बाट प्रभावित जोखिमयुक्त मुलुकहरूको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको विशेष अन्तर्राष्ट्रिय वित्तीय प्याकेज आवश्यक रहेको बताएका छन्।
संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत आज नेपाल पेभिलियनमा आयोजित ‘विपद्को पूर्ण आर्थिक भार : जलवायुजन्य आघातपछि ऋण, ऋण मूल्याङ्कन तथा मुद्राको अवस्था र आवश्यक सहयोग प्याकेजको स्वरूप’ विषयक छलफलमा बोल्दै उनले जलवायुजन्य विपद्को आर्थिक भार नेपालजस्ता जोखिममा रहेका मुलुकले एक्लै वहन गर्न नसक्ने बताए।
उनले विपद्पछिको उद्धार, राहत तथा पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउन सरकारले अन्य विकास तथा सामाजिक क्षेत्रको बजेट कटौती गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे। यसले विद्यालय तथा अस्पताल निर्माण, सामाजिक सुरक्षा र अन्य विकास कार्यक्रमहरू प्रत्यक्ष रूपमा प्रभावित भएको उनको भनाइ थियो।
अर्थमन्त्री वाग्लेले जलवायुजन्य विपद्बाट हुने क्षतिको भार कम गर्न तथा प्रभावित मुलुकको आर्थिक पुनरुत्थानलाई गति दिन अन्तर्राष्ट्रिय समुदायले विशेष वित्तीय सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिए।