काठमाडौं । छठ पर्व नजिकिएसँगै काठमाडौं उपत्यकाका नदी किनार, पोखरी तथा जलाशयमा तयारी तीव्र पारिएको छ। विभिन्न स्थानमा छठ घाट निर्माण, सरसफाइ, सजावट तथा व्यवस्थापनका काम भइरहेका छन्।
काठमाडौंको गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, बागमती नदी किनार, टेकु र वंशीघाटलगायत क्षेत्रमा छठ पर्व मनाउने तयारी गरिएको छ। चार दिनसम्म विभिन्न धार्मिक विधि र आस्थाका साथ मनाइने छठमा व्रतालुहरूले अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गर्छन्।
गौरीघाटस्थित छठ पूजा व्यवस्थापन समितिका पूर्वसचिव तथा सल्लाहकार नवलकिशोर यादवका अनुसार गौरीघाटदेखि गुह्येश्वरी घाटसम्म करिब ६०० पूजास्थल व्यवस्थापन गरिँदै छ। अहिले घाटमा सरसफाइ, टेन्ट निर्माण, बत्ती जडान तथा अन्य आवश्यक पूर्वाधार तयार पार्ने काम भइरहेको छ।
यस वर्ष एउटा पूजास्थलका लागि १ हजार ५०० रुपैयाँ शुल्क निर्धारण गरिएको यादवले बताए। आर्थिक अवस्था कमजोर भएका र शुल्क तिर्न नसक्ने व्रतालुका लागि निःशुल्क पूजास्थलको व्यवस्था गरिएको पनि उनले जानकारी दिए।
यादवले छठ पर्व जातजाति, धर्म र समुदायबीचको विभेद अन्त्य गर्दै सामाजिक सद्भाव र एकता कायम गर्ने पर्व भएको बताए। एउटै जलाशयमा विभिन्न जातजाति र धर्मावलम्बीले सँगै बसेर पूजा गर्ने भएकाले छठ सामाजिक समावेशिताको उदाहरणसमेत बनेको उनको भनाइ छ।
‘पहिले छठलाई मिथिला र मधेसमा मनाइने पर्वका रूपमा बुझिन्थ्यो। अहिले सबै जातजाति र धर्मावलम्बीले मिलेर मनाउने साझा पर्व बनेको छ। एउटै जलाशयमा सबैले सँगै बसेर पूजा गर्छन्। यहाँ जात, धर्म, धनी र गरिबबीच कुनै विभेद हुँदैन,’ उनले भने।
उनका अनुसार छठ प्रकृति र मानव जीवनसँग प्रत्यक्ष जोडिएको पर्व हो। यस पर्वमा सूर्य, पानी, माटो, हावा र प्रकृतिको पूजा गरिन्छ। नयाँ अन्न, फलफूल, उखु तथा माटाका भाँडालाई प्रसादका रूपमा प्रयोग गर्ने परम्परा रहेको उनले बताए।
गौरीघाटमा छठ पूजाको व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोष, बागमती सभ्यता एकीकृत विकास समिति तथा विभिन्न संघसंस्थासँग समन्वय भइरहेको छ। घाटमा टेन्ट, बत्ती र पुल निर्माणका साथै सुरक्षा व्यवस्थापनको कामसमेत अघि बढाइएको यादवले जानकारी दिए।
उनका अनुसार कात्तिक २८ गते बेलुकासम्म घाटको सरसफाइ, बत्ती जडान र पूजास्थल निर्माणलगायत सम्पूर्ण तयारी पूरा गर्ने लक्ष्य राखिएको छ।
यादवले छठ पर्वका बेला मात्रै नभई वर्षभरि नै बागमती नदी किनारको सरसफाइ र सौन्दर्यकरण गर्नुपर्ने आवश्यकता औँल्याए। पर्वका बेला नदी किनार सफा गरिए पनि नियमित सरसफाइको व्यवस्था नहुँदा फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनेको उनको भनाइ छ।
‘वर्षमा एकपटक छठ आउँदा मात्रै झिलिमिली बत्ती बालेर हुँदैन। यहाँ दिनहुँ सरसफाइ गर्ने टोली हुनुपर्छ। नदी किनारको नियमित सौन्दर्यकरण हुनुपर्छ,’ उनले भने।
पूजापछि फूल, फलफूल र प्लास्टिक नदी किनारमा फाल्ने प्रवृत्ति अझै कायम रहेको उल्लेख गर्दै उनले यसलाई पूर्ण रूपमा नियन्त्रण गर्न नसकिएको बताए।
छठका अवसरमा सुरक्षालाई पनि विशेष प्राथमिकता दिइएको यादवले बताए। विभिन्न संघसंस्थासँगको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको र अहिलेसम्म कुनै अप्रिय घटना नभएको उनले जानकारी दिए।
आर्थिक अभावका कारण कसैले पनि छठ पूजा गर्नबाट वञ्चित हुन नपरोस् भनेर निःशुल्क पूजास्थलको व्यवस्था गरिएको उनको भनाइ छ। ‘पूजा गर्न कसैलाई पनि पैसाकै कारण वञ्चित गराउँदैनौँ। १ हजार ५०० रुपैयाँ तिर्न नसक्नेले पनि यहाँ पूजा गर्न पाउँछन्,’ उनले भने।
छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सुरु हुन्छ। चतुर्थीका दिनदेखि व्रत बस्ने परम्परा रहेको यस पर्वमा षष्ठीका दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व समापन हुन्छ।