ठूलो आवाज निकाल्ने र स्वरूप परिवर्तन गरिएका ५२ मोटरसाइकल प्रहरी नियन्त्रणमा

ठूलो आवाज निकाल्ने र स्वरूप परिवर्तन गरिएका ५२ मोटरसाइकल प्रहरी नियन्त्रणमा

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट ठूलो आवाज निकाल्ने तथा स्वरूप परिवर्तन गरिएका ५२ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

चाडपर्वका समयमा सर्वसाधारणलाई सुरक्षित, शान्त र भयमुक्त वातावरणमा आवतजावत गर्ने व्यवस्था मिलाउने उद्देश्यले प्रहरीले सवारीसाधनमाथिको निगरानी तथा चेकजाँचलाई तीव्र बनाएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँ तथा मातहतका प्रहरी वृत्त र प्रभागबाट खटिएका प्रहरी टोलीले राजधानीका विभिन्न स्थानमा चेकजाँच र निगरानी बढाएका थिए।

सोही क्रममा सवारीसाधनको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ५२ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।

नियन्त्रणमा लिइएका मोटरसाइकलमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!