काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि जारी छ। महाधिवेशन प्रतिनिधिहरूका लागि बिहान ७ः३० बजेदेखि ९ बजेसम्म भृकुटीमण्डपस्थित ठूलो हलमा बिहानी खाजाको व्यवस्था गरिएको छ।
त्यसपछि बिहान सवा ९ बजेदेखि तीनवटा हलमा बन्दसत्र सञ्चालन हुनेछ। बन्दसत्रमा पार्टी सभापतिको प्रतिवेदन पेस गरिनेछ। त्यसलगत्तै विधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गरी त्यसमा विस्तृत छलफल अघि बढाइने बताइएको छ।
विधान संशोधनसम्बन्धी छलफलपछि प्रतिनिधिहरूका लागि बिहान ११ः३० बजेदेखि खानाको समय निर्धारण गरिएको छ।
यसैबीच, महाधिवेशनअन्तर्गत विभिन्न पदका लागि आज दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी दरखास्त दर्ता गर्ने समय तोकिएको छ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनको प्रक्रिया पनि यही कार्यतालिकाअनुसार अघि बढ्नेछ।