काठमाडौँ । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन कार्यक्रम दिउँसो २ बजे खुलामञ्चमा आयोजना हुनेछ भने भोलिदेखि बन्दसत्र सुरु हुने पार्टीले जनाएको छ।
उद्घाटन समारोहमा विभिन्न देशका प्रतिनिधि, राजनीतिक दलका शीर्ष नेता तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहने कांग्रेसले जनाएको छ।
असोज २२ गतेसम्म सञ्चालन हुने महाधिवेशनमा देशभरका साथै जनसम्पर्क समितिमार्फत सात हजारभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन्। महाधिवेशनमा सहभागी प्रतिनिधिका सवारीसाधनका लागि विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ।
कांग्रेस केन्द्रीय सदस्य तथा महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजयबहादुर स्वाँरका अनुसार खुलामञ्चमा आउने प्रतिनिधिका लागि ट्राफिक प्रहरीसँगको समन्वयमा विभिन्न स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ।
उनका अनुसार धरहराको अन्डरग्राउन्ड, माइतीघरदेखि भद्रकालीसम्मको वान–वे सडकको एकतर्फी भाग तथा दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्था गरिएको छ।
यस्तै, पुरानो बसपार्क आसपास र भृकुटीमण्डपभित्र समेत केही सवारीसाधन पार्किङ गर्ने व्यवस्था मिलाउन ट्राफिक प्रहरीसँग समन्वय भइरहेको संयोजक स्वाँरले जानकारी दिए।