कांग्रेस १५औँ महाधिवेशन : असोज २२ गते मतदान, निर्वाचन कार्यतालिका सार्वजनिक

कांग्रेस १५औँ महाधिवेशन : असोज २२ गते मतदान, निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। समितिले आइतबार जारी गरेको सूचनाअनुसार निर्वाचन प्रक्रिया असोज १९ गतेदेखि सुरु हुनेछ भने असोज २२ गते मतदान हुनेछ।

निर्वाचन कार्यतालिकाअनुसार असोज १९ गते साँझ ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ। त्यसपछि साँझ ५ देखि ६ः३० बजेसम्म दाबी–विरोधका लागि समय छुट्याइएको छ। ६ः३० देखि ७ः३० बजेसम्म दाबी–विरोधमाथि जाँचबुझ गरी राति ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ।

असोज २० गते उम्मेदवारी मनोनयनपत्र दर्ता हुनेछ। त्यसका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ। दिउँसो ४ः३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिनेछ। त्यसपछि ४ः३० देखि ५ः३० बजेसम्म दाबी–विरोध तथा ५ः३० देखि ६ः३० बजेसम्म जाँचबुझ गरिनेछ। उम्मेदवारको दोस्रो नामावली साँझ ७ बजे प्रकाशन हुनेछ।

असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिन वा विवरण सच्याउन निवेदन दिन सकिनेछ। त्यसपछि बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। सोही दिन उम्मेदवारहरूले प्रचारप्रसार गर्न पाउनेछन्।

निर्वाचनको मुख्य मतदान असोज २२ गते बिहान ७ः३० बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ। नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने निर्वाचनमा कांग्रेस महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्नेछन्।

लिङ्क सफलतापूर्वक कापि गरियो!