काठमाडौं। नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंको खुलामञ्चमा औपचारिक रूपमा सुरु भएको छ। महाधिवेशनमा सहभागी हुन देशका ७७ वटै जिल्ला तथा विदेशस्थित जनसम्पर्क समितिबाट सात हजारभन्दा बढी प्रतिनिधि काठमाडौं आएका छन्।
महाधिवेशनका क्रममा राजधानीको सवारी आवागमन र ट्राफिक व्यवस्थापन सहज बनाउन आयोजक समिति र ट्राफिक प्रहरीको समन्वयमा विभिन्न स्थानमा विशेष पार्किङ व्यवस्था मिलाइएको छ।
कांग्रेस केन्द्रीय सदस्य एवं महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजयबहादुर स्वाँरका अनुसार खुलामञ्चमा हुने उद्घाटन सत्र तथा भृकुटीमण्डपमा हुने बन्दसत्रमा सहभागी प्रतिनिधि र शुभेच्छुकका सवारीसाधनका लागि काठमाडौंका विभिन्न स्थानमा पार्किङ क्षेत्र तोकिएको छ।
विशेषगरी दुईपाङ्ग्रे तथा साना चारपाङ्ग्रे सवारीसाधनका लागि धरहराको अन्डरग्राउन्ड पार्किङ प्रयोग गर्न सकिनेछ। यस्तै, माइतीघरदेखि भद्रकालीसम्मको ‘वान वे’ सडकको एकतर्फी किनारमा पनि पार्किङको व्यवस्था गरिएको छ।
दरबारमार्गस्थित होटल अन्नपूर्ण परिसर तथा आसपासका खुला क्षेत्रमा समेत सवारीसाधन पार्किङ गर्न सकिने व्यवस्था मिलाइएको छ। त्यसैगरी भृकुटीमण्डप परिसर र पुरानो बसपार्क आसपासका क्षेत्रमा थप पार्किङ व्यवस्थाका लागि ट्राफिक प्रहरीसँग अन्तिम समन्वय भइरहेको समितिले जनाएको छ।
असोज २२ गतेसम्म सञ्चालन हुने महाधिवेशनका कारण सुन्धारा, रत्नपार्क, भृकुटीमण्डप, माइतीघर र पुतलीसडकलगायत क्षेत्रमा सवारीसाधनको चाप बढ्न सक्ने भएकाले उपत्यका ट्राफिक प्रहरी कार्यालयले सर्वसाधारणलाई सकेसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
ट्राफिक प्रहरीले अत्यावश्यकबाहेक निजी सवारीसाधन प्रयोग नगरी सम्भव भएसम्म सार्वजनिक यातायातका साधन प्रयोग गर्न पनि सर्वसाधारणलाई अनुरोध गरेको छ।