कांग्रेस महाधिवेशनमा युवाको बाक्लो उपस्थिति, नयाँ पुस्ताको नेतृत्व दाबी

कांग्रेस महाधिवेशनमा युवाको बाक्लो उपस्थिति, नयाँ पुस्ताको नेतृत्व दाबी

काठमाडौं। बदलिएको राजनीतिक परिवेश र पार्टीभित्रकै आन्तरिक अन्तरविरोधबीच नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि राजधानीमा सुरु हुँदै छ। महाधिवेशनले कांग्रेसको नयाँ नेतृत्व चयन गर्नुका साथै मुलुककै पुरानो लोकतान्त्रिक दलले आगामी दिनमा लिने राजनीतिक एजेन्डासमेत तय गर्नेछ।

यसपटकको महाधिवेशनमा सबैभन्दा बढी चासोको विषय बनेको छ—युवाहरूको बाक्लो उपस्थिति। गत वर्ष भदौ २३ र २४ गते भएको ‘जेनजी विद्रोह’पछि नेपाली राजनीतिमा युवापुस्ताको प्रभाव र आकर्षण बढिरहेका बेला कांग्रेस महाधिवेशनमा पनि युवाको उपस्थितिलाई विशेष चासोका साथ हेरिएको छ। देशभरबाट ठूलो सङ्ख्यामा युवा महाधिवेशन प्रतिनिधिका रूपमा काठमाडौं आइपुगेका छन्।

सबैभन्दा ‘बूढो’ पार्टीका रूपमा चित्रित हुँदै आएको कांग्रेसमा यसपटक करिब ४० प्रतिशत युवा प्रतिनिधिको उपस्थितिले पार्टीको आन्तरिक जीवनलाई नयाँ ऊर्जा दिने अपेक्षा गरिएको छ। पार्टीमा युवाको आकर्षण बढाउन सभापति गगन थापासहित नयाँ पुस्ताका केही प्रभावशाली नेताहरूको भूमिकालाई पनि महत्त्वपूर्ण मानिएको छ।

महाधिवेशनमार्फत नयाँ पुस्ता केन्द्रीय समितिमा प्रवेश गर्दै पार्टी सुधारका आन्तरिक विषयमा हस्तक्षेप बढाउने तयारीमा देखिन्छ।

त्यस्तैमध्येका एक उदीयमान पात्र हुन्—इलामका निस्कल राई। देशैभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रभाव बढिरहेका बेला इलाम–१ बाट प्रत्यक्ष निर्वाचित राईले प्रतिनिधिसभामा प्रभावशाली उपस्थिति देखाइरहेका छन्।

पहिलोपटककै संसदीय यात्रामा दलको सचेतकको जिम्मेवारी पाएका राईले संसदमा प्रस्तुत गर्ने तर्क र विषयवस्तुमार्फत छोटो समयमै आफ्नो प्रभाव स्थापित गरेका छन्। संसदमा कांग्रेसको मात्र नभई बलियो प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका राई नयाँ बन्ने केन्द्रीय कार्यसमितिमा केन्द्रीय सदस्यका बलिया दाबेदारका रूपमा देखिएका छन्।

वीरगन्जका कञ्चन झा पनि कांग्रेसमा उदाउँदै गरेको नयाँ पुस्ताका अर्का नेता हुन्। कांग्रेस पार्टी कार्यालयमा युवापुस्तालाई जोड्ने नयाँ विषय र मुद्दामा बहस चलाउँदै आएका झा महाधिवेशनको तयारीमा पनि सक्रिय छन्।

बौद्धिक र तार्किक प्रस्तुतिका कारण झालाई भविष्यमा मधेसमा कांग्रेसको जिम्मेवारी सम्हाल्न सक्ने नेताका रूपमा हेरिएको छ। उनी पनि यसपटक केन्द्रीय समितिमा प्रवेश गर्ने तयारीमा छन्।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी कांग्रेसभित्र उदाउँदै गरेका युवा नेतामध्येका एक हुन्। देशभरका स्थानीय तहमध्ये उत्कृष्ट कार्यसम्पादन गर्ने स्थानीय सरकारका रूपमा चर्चा पाएको अर्जुनचौपारीको नेतृत्व तिवारीले गरिरहेका छन्।

व्यावसायिक पृष्ठभूमिका तिवारी स्टार्टअप, इनोभेसन र लगानीसम्बन्धी कम्पनीमा नेतृत्व गरिसकेका व्यक्ति हुन्। उनी राजनीतिक अध्ययन र विश्लेषणमा पनि सक्रिय छन्। अर्जुनचौपारीलाई पर्यटनको हबका रूपमा विकास गर्न नेपालकै पहिलो नवग्रह मन्दिर स्थापनाको परिकल्पना पनि तिवारीले अघि सारेका छन्। उनले यसपटक कांग्रेस केन्द्रीय सदस्यका रूपमा आफूलाई प्रस्तुत गरेका छन्।

गण्डकी प्रदेशकी एलिजा ढकाल पनि कांग्रेसमा उदाउँदै गरेको नयाँ पुस्ताको प्रतिनिधि पात्र हुन्। उनले नेपाली कांग्रेसको विशेष महाधिवेशन अभियान सफल बनाउन सक्रिय सहभागिता जनाउनुका साथै पार्टीको रूपान्तरण, पुनर्जागरण र आकर्षणका लागि देशव्यापी संवाद यात्रामा तत्कालीन महामन्त्री तथा हालका सभापति गगन थापासँगै सहभागी भएकी थिइन्।

कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानकी सदस्यका रूपमा जातीय भेदभावविरुद्ध सचेतना उपसमितिमा रहेर काम गरेको अनुभव पनि ढकालसँग छ। युवाको ऊर्जालाई अग्रजको अनुभवसँग जोड्न पुस्ताबीच फाटो नभई सहकार्य र सहअस्तित्व आवश्यक रहेको धारणा राख्दै उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन्।

कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को नेतृत्व गरिरहेकी धनकुटाकी करुणा कटवाल पनि बदलिँदो कांग्रेसको प्रतिनिधि पात्रका रूपमा देखिएकी छन्। २७ वर्षकै उमेरमा कांग्रेसको प्रभावशाली संगठनको नेतृत्व सम्हालिरहेकी कटवाल राजनीतिमा सक्रिय हुन चाहने युवाका लागि उदाहरण बनेकी छन्। उनी युवापुस्ताको नेतृत्व गर्दै कांग्रेसको केन्द्रीय समितिमा प्रवेश गर्ने योजनामा छिन्।

त्यसैगरी, कांग्रेसलाई नयाँ पुस्तासँग जोड्ने प्रयासमा बैतडीकी भूपी ऐर पनि सक्रिय छिन्। पद्मकन्या क्याम्पसमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएर सभापतिमा निर्वाचित भएकी ऐर विद्यार्थीमाझ मात्र नभई कांग्रेसभित्र पनि आफ्नो प्रभाव विस्तार गर्दैछिन्।

परिवर्तनलाई नजिकबाट बुझेकी ऐर यसपटक कांग्रेसको केन्द्रीय कार्यसमितिमा प्रवेश गर्ने तयारीमा छिन्।

यसरी कांग्रेसको १५औँ महाधिवेशनमा देखिएको युवाको उल्लेख्य उपस्थितिले पार्टीको नेतृत्व र आगामी राजनीतिक दिशाबारे नयाँ बहस सिर्जना गरेको छ। पुरानो संगठनात्मक संरचनाभित्र नयाँ पुस्ताको प्रवेश कति प्रभावकारी हुन्छ भन्ने कुरा भने महाधिवेशनपछि बन्ने केन्द्रीय नेतृत्व र त्यसले अघि सार्ने राजनीतिक एजेन्डाले निर्धारण गर्नेछ।

लिङ्क सफलतापूर्वक कापि गरियो!