भोटेकोशी बाढीमा बुबा बेपत्ता हुँदा दाजुबहिनीको बिचल्ली

नेपाली स्टार्टअपको सफलता : प्रविधि र नवप्रवर्तनको नयाँ उचाइ

story05-1192026083245-1000x0.jpgराजविराज — चुहिरहेको टिनको छानोमुनि १३ वर्षीय शोभाकुमार सदा कहिले बहिनी बिभालाई हेर्छन्, कहिले बुबा आउने बाटो । भोटेकोशी नदीमा आएको बाढीपछि उनका बुबा बेचन सदा बेपत्ता भएको २७ दिन बितिसक्यो । कुनै खबर आएको छैन । घरमा आम्दानीको बाटो छैन । आमाको मृत्यु भएको एक वर्ष पनि पुगेको छैन । यसमाथि आमाको उपचार र दिदीहरूको बिहेमा लागेको ऋण उनकै थाप्लोमा आइलागेको छ । १० भदौपछि राजविराज नगरपालिका–१६, बोरियास्थित घरमा शोभाकुमार यही चिन्ताले झस्किन्छन् । बेलाबेला बरबराइरहन्छन् । ‘उपचार अभावले ४२ वर्षकै उमेरमा आमा बित्नुभयो,’ उनले भने, ‘त्यसको वर्ष दिन नबित्दै एक्लो सहारा बुवा सम्पर्कविहीन भएको २७ दिनसम्म अत्तोपत्तो छैन ।’ क्यान्सर रोगबाट ग्रसित उनकी आमा फुलियादेवीको गत कात्तिकमा मृत्यु भएको थियो । उपचारका लागि उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि चिकित्सकले थप उपचारका लागि भरतपुर क्यान्सर अस्पताल लैजान सुझाएका थिए । तर, पैसा जोहो गर्न नसक्दा फुलियादेवीको थप उपचार हुन सकेन । ‘त्यसबेलासम्म बुबाको आफूसँग भएको तथा ऋण लिएको एक लाखभन्दा बढी रुपैयाँ उपचार र आउजाउमा खर्च भइसकेको थियो,’ शोभाकुमारले भने, ‘भरतपुर लैजान थप ऋण खोज्दा पनि पाउन सकेनौं ।’ पैसा जुटाउन नसक्दा घरमै आमाको मृत्यु भएको उनले सुनाए । फुलियादेवीको उपचारका क्रममा लिएको ऋण तिर्न र बरखी खर्च जुटाउन बेचन गत जेठमा रसुवा पुगेका थिए । ४५ वर्षीय उनी डन्डी बाँध्ने मजदुरका रूपमा त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा काम गर्थे । तर, त्यस दिनको बाढीपछि उनी सम्पर्कविहीन छन् । बाढीले उत्पात मच्चाइरहँदा शोभाकुमार काठमाडौंमा थिए । बुबाले मात्रै कमाएर ऋण तिर्न गाह्रो देखेपछि उनी बाध्य भएर गाउँलेसँग मजदुरी गर्न काठमाडौं पुगेका थिए । बुबा कार्यरत आयोजना बाढीले बगाएको खबर पाएपछि उनले फोन गर्न थाले । तर, फोन लागेन । उनले भने, ‘एखोन बेर–बेर फोन डायल करैत रहैछिए, लेकिन नै लागैछै (अझै पटक–पटक फोन डायल गरिरहन्छु तर लाग्दैन ।)’ बुबाले लिएकोमध्ये ६९ हजार रुपैयाँ ऋण तिर्न बाँकी रहेको शोभाले बताए । ‘अहिले हाम्रो अवस्था हेरेर कोही माग्न आउनुभएको त छैन । तर, तिर्नु त पर्छ नै,’ उनले भने, ‘बुबासँग यतिका दिनसम्म पनि सम्पर्क नहुँदा के गर्ने, नगर्ने भनी दिमागले कामै गरिरहेको छैन ।’ बुबा बेपत्ता भएपछि ७ वर्षीया बहिनी बिभाको जिम्मेवारी पनि शोभामाथि आएको छ । उनका दुई दिदी विवाह गरेर गइसकेका छन् । अहिले दिदीहरू हीरा र किरणले पालैपालो बोरियामै बसेर शोभा र बिभाको हेरचाह गरिरहेका छन् । उनीहरूको टिनको घर छ तर पानी परेपछि चुहिन थाल्छ । वर्षाका बेला त्यहाँ बस्न र खाना पकाउनै समस्या पर्ने उनले बताए । उनले भने, ‘जाने ठाउँ छैन । जस्तो भए पनि बस्ने, सुत्ने र खाना पकाउने सबै काम चुहिने छानामुनि नै गरिरहेका छौं ।’ दिदी हीराले भाइबहिनीलाई आफूसँगै लैजान सक्ने अवस्था नरहेको बताइन् । ‘दिदी केही दिन बसेर ससुराली फर्किनुभयो, फर्किनुपर्ने बाध्यता मलाई पनि छ,’ उनले भनिन्, ‘अहिले भाइ र बहिनीको चिन्ताले फर्किन सकेकी छैन । हामी पनि आर्थिक रूपमा कमजोर नै छौं । त्यहाँ राख्न सक्ने अवस्था पनि छैन ।’

लिङ्क सफलतापूर्वक कापि गरियो!