काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई ‘सुरक्षाका लागि’ भन्दै प्रहरी नियन्त्रणमा लिएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रञ्जु दर्शनाले आपत्ति जनाएकी छन्।
दर्शनाले कसुर गरेको प्रमाणित भए कानुनअनुसार पक्राउ गर्न सकिने भए पनि पक्राउ गर्दा कानुनी विधि र प्रक्रिया पूरा गर्नुपर्ने बताएकी छन्। उनका अनुसार आरोप मात्र पर्याप्त नहुने भएकाले कसुर पुष्टि गर्ने आधार र प्रमाण आवश्यक हुन्छ।
‘कसुर अदृश्य भए पनि कानुनले प्रमाण माग्छ, केवल आरोप मात्र पर्याप्त हुँदैन, कसुर पुष्टि गर्ने आधार र प्रमाण चाहिन्छ,’ दर्शनाले भनेकी छन्। उनले कानुनको शासनमा अधिकारको प्रयोग विधि र प्रमाणका आधारमा हुनुपर्ने उल्लेख गर्दै पूर्वप्रधानन्यायाधीश जबराको सुरक्षामा समेत राज्यले पर्याप्त ध्यान दिनुपर्ने बताएकी छन्।
यसैबीच, प्रहरी नियन्त्रणमा रहेका जबरा आइतबार दिउँसो टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट रिहा भएका छन्। उनलाई शनिबार राति महाराजगञ्जस्थित निवासबाट प्रहरी टोलीले नियन्त्रणमा लिएर कार्यालयमा ल्याएको थियो।
प्रहरीले भने जबरालाई पक्राउ नगरिएको र सुरक्षा जोखिमका कारण कार्यालयमा ल्याइएको दाबी गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार जबरामाथि सुरक्षा खतरा रहेको सूचना पाएपछि उनलाई सुरक्षित राख्न कार्यालयमा ल्याइएको थियो।
जबरालाई आइतबार सुरक्षित स्थानमा पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले उनीमाथि रहेको भनिएको सुरक्षा चुनौतीको विस्तृत विवरण भने सार्वजनिक गरेको छैन।