काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणका लागि नेपाल र भारत दुवै पक्ष सकारात्मक छलफलमा रहेको बताएका छन्। उनले भ्रमणलाई परिणाममुखी र अर्थपूर्ण बनाउने विषयमा दुवै पक्षको चासो रहेको बताए।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले प्रधानमन्त्रीको भारत भ्रमणको मिति भने अहिलेसम्म तय नभएको जानकारी दिए।
उनका अनुसार सरकार गठन भएलगत्तै भारतबाट प्रधानमन्त्रीको भ्रमणका लागि निमन्त्रणा प्राप्त भएको थियो। नेपालले उक्त निमन्त्रणालाई सकारात्मक रूपमा लिँदै उपयुक्त समयमा भ्रमण गर्ने विषयमा छलफल अघि बढाइरहेको उनले बताए।
मन्त्री खनालले भने, ‘सरकार गठन भएलगत्तै प्राथमिकताका आधारमा भारत र चीनको भ्रमण गरी दुवै छिमेकी मुलुकसँग नेपालका प्राथमिकताका विषय स्पष्ट रूपमा प्रस्तुत गरेका थियौँ।’
उनले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा विश्वभरका राष्ट्र तथा सरकार प्रमुख र परराष्ट्रमन्त्रीसँग भएका द्विपक्षीय तथा बहुपक्षीय भेटवार्तालाई नेपालको राष्ट्रिय हितका विषय उठाउन अधिकतम उपयोग गरिएको बताए।
महासभाका क्रममा नेपालको राष्ट्रिय स्वार्थसँगै भोटेकोशी बाढीपछिको विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका चुनौतीलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरिएको उनको भनाइ छ।
प्रधानमन्त्रीको भारत भ्रमणबारे मन्त्री खनालले नेपाल र भारत दुवै पक्ष उपयुक्त समयमा परिणाममुखी भ्रमण गर्ने विषयमा सकारात्मक रहेको तर भ्रमणको मिति भने टुंगो नलागेको स्पष्ट पारे।
सरकारले छिमेकी मुलुकसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन तथा आपसी प्राथमिकताका विषयमा परिणाममुखी छलफल अघि बढाउन सहयोग पुग्ने बताए।