प्रतिनिधिसभाको बैठक आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा

प्रतिनिधिसभाको बैठक आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संसद् भवनमा बस्दैछ। बैठकमा विभिन्न विधेयक प्रस्तुत तथा छलफलका लागि कार्यसूची तय गरिएको छ।

आजको बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। यस्तै, मन्त्री गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछिन्।

बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचनले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गर्ने कार्यसूची रहेको छ।

यसैगरी, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ प्रस्तुत गर्नेछन्।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्तावसमेत बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रतिनिधिसभाको आजको बैठकमा यी विधेयक तथा प्रस्तावमाथि आवश्यक प्रक्रिया अघि बढाइनेछ।

लिङ्क सफलतापूर्वक कापि गरियो!