जनताको सेवक बनेर काम गर्न रास्वपा सांसदलाई रविको निर्देशन, टिकटमा आर्थिक चलखेल नगर्न चेतावनी

जनताको सेवक बनेर काम गर्न रास्वपा सांसदलाई रविको निर्देशन, टिकटमा आर्थिक चलखेल नगर्न चेतावनी

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका सांसदहरूलाई जनताको अपेक्षाअनुसार काम गर्दै सेवकको भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्।

छठ पर्वको अवसरमा शनिबार जनकपुरधाममा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै लामिछानेले जनप्रतिनिधि जनताको मालिक नभई सेवक बन्नुपर्ने बताएका हुन्। छठ पर्व मनाउन जनकपुरधाम पुगेका उनले सांसदहरूको जीवनशैलीमा परिवर्तन आउनुभन्दा आफूलाई अमूल्य मत दिएका जनताको जीवनस्तरमा सुधार आउनुपर्नेमा जोड दिए।

जनताको अपेक्षाअनुसार काम गर्न नसके आगामी निर्वाचनमा जनताले नै त्यसको जवाफ दिने उनको भनाइ थियो।

लामिछानेले निर्वाचन नजिकिँदै जाँदा मधेश प्रदेशमा रास्वपाको टिकट पाउने भन्दै अग्रिम उम्मेदवारी घोषणा गर्नेहरूको गतिविधिप्रति पनि ध्यानाकर्षण भएको बताए। केही स्थानमा पार्टीको टिकट सुनिश्चित गरिदिने भन्दै आर्थिक लेनदेनसमेत भइरहेको आफूले सुनेको उनले उल्लेख गरे।

टिकटको लोभमा उम्मेदवारी घोषणा गर्दैमा कसैको सपना पूरा नहुने स्पष्ट पार्दै उनले टिकट दिलाउने नाममा कसैलाई पनि पैसा नदिन आग्रह गरे। पार्टीको टिकट दिलाइदिने बहानामा आर्थिक चलखेल भएको सूचना पाए नजिकको प्रहरी चौकीमा उजुरी दिन उनले आग्रह गरे। त्यस्तो गतिविधिबारे सूचना दिने व्यक्तिलाई पार्टीले पुरस्कृत गर्ने घोषणा पनि उनले गरे।

सभापति लामिछानेले विभिन्न कालखण्डका आन्दोलनमा सहादत प्राप्त गरेका सम्पूर्ण सहिदप्रति रास्वपाले सम्मान व्यक्त गर्ने बताए। सहिदहरूले परिकल्पना गरेको हक, अधिकार र पहिचान मधेशका जनतालाई दिलाउन पार्टी प्रतिबद्ध रहेको उनको भनाइ थियो।

लिङ्क सफलतापूर्वक कापि गरियो!