काठमाडौँ । नेपाली कांग्रेस (देउवा पक्ष) का युवा नेता भूपेन्द्रजंग शाहीले बिचौलिया प्रकरणको निष्पक्ष छानबिन पूरा नभएसम्म पार्टी सभापति गगन थापा पदबाट अलग हुनुपर्ने बताएका छन्।
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै शाहीले १८ करोड रुपैयाँको सेटिङ र बिचौलिया इनम सापकोटासँग जोडिएको विषयमा छानबिन नसकिएसम्म थापाले कार्यवाहक सभापति विश्वप्रकाश शर्मालाई जिम्मेवारी सुम्पिनुपर्ने धारणा राखे।
उनले बिचौलिया इनम प्रकरणमा जोडिएका न्यायाधीशले समेत राजीनामा दिनुपर्ने र छानबिन पूरा नभएसम्म इजलासमा बस्न नहुने बताए।
निर्वाचन आयोग र न्यायपालिकाको भूमिकामाथि प्रश्न उठाउँदै शाहीले निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा रातारात पार्टीको नेतृत्व परिवर्तन हुनु रहस्यमय भएको टिप्पणी गरे। इनम सापकोटाको बयानपछि निर्वाचन आयोगले कसरी रातारात गगन पक्षलाई पार्टीको आधिकारिकता दिएको रहेछ भन्ने स्पष्ट भएको उनको दाबी थियो। उनले यस विषयमा निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरे।
कांग्रेसभित्र बढ्दै गएको विभाजन र गुट–उपगुटप्रति दुःख व्यक्त गर्दै शाहीले पार्टीलाई माया गर्ने नागरिकले कांग्रेस एक भएको हेर्न चाहेको बताए। सबैले आ–आफ्नो हठ त्याग्न सके कांग्रेस पुनः एकताबद्ध हुन सक्ने उनको भनाइ थियो। उनले देउवा पक्ष पनि महाधिवेशनको तयारीमा रहेको जानकारी दिए।
सरकारले गगन थापालाई पक्राउ गर्न लागेको भन्ने चर्चालाई उनले भ्रमको खेतीको संज्ञा दिए। कांग्रेस नेता उदयशमशेर राणाले पहिलोपटक यस्तो हल्ला चलाएको उल्लेख गर्दै थापा पक्षले जनतालाई भ्रममा पार्न आफैँ यस्तो प्रचार गरेको आरोप लगाए।
राजनीतिक नैतिकताको विषय उठाउँदै शाहीले थापाको पछिल्लो राजनीतिक गतिविधिमाथि पनि प्रश्न गरे। केपी शर्मा ओलीको अनुहारसमेत हेर्न नचाहने बताउँदै आएका थापा १८ करोडको प्रकरण सार्वजनिक भएपछि ओलीलाई भेट्न गुण्डु पुगेको भन्दै उनले आलोचना गरे।
प्रदेश सरकार टिकाउन कम्युनिष्टसँग सहकार्य नगर्ने बताउँदै आएका थापा फेरि त्यही सरकार जोगाउन ओलीलाई भेट्न किन गएको भन्दै शाहीले प्रश्न गरे। यद्यपि, ओलीले थापालाई विश्वास नगरेको उनको दाबी थियो।
थापालाई प्रश्न गर्नै नपाइने र उनी नै लोकतन्त्र तथा प्रजातन्त्रको पर्याय हुन् भन्ने गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै शाहीले त्यसप्रति सचेत रहन आग्रह गरे।