कांग्रेसको १५औँ महाधिवेशनमा ७ हजार प्रतिनिधि सहभागी हुने, खुलामञ्चमै बन्दसत्रको तयारी

कांग्रेसको १५औँ महाधिवेशनमा ७ हजार प्रतिनिधि सहभागी हुने, खुलामञ्चमै बन्दसत्रको तयारी

काठमाडौं । नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनमा करिब ७ हजार महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन्। १४औँ महाधिवेशनको तुलनामा प्रतिनिधिको सङ्ख्या उल्लेख्य रूपमा बढ्ने भएपछि यसपटक उद्घाटन कार्यक्रमसँगै बन्दसत्रसमेत काठमाडौंको खुलामञ्चमा टेन्ट टाँगेर सञ्चालन गर्ने तयारी गरिएको छ।

अविरल वर्षाका कारण देशभरका क्षेत्रीय अधिवेशन प्रभावित भएपछि कांग्रेस निर्वाचन समितिले महाधिवेशनको कार्यतालिका दुई दिन पछाडि सारेको छ। नयाँ कार्यतालिकाअनुसार महाधिवेशन असोज १८ देखि २२ गतेसम्म सञ्चालन हुनेछ। यसअघि असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका तय गरिएको थियो।

कार्यतालिका परिमार्जन गरिए पनि महाधिवेशन प्रतिनिधिको दर्ता भने पूर्वनिर्धारित समयअनुसार असोज १६ गते शुक्रबारदेखि नै सुरु हुनेछ। शुक्रबार र शनिबार प्रतिनिधि दर्ता सम्पन्न गरिनेछ।

असोज १८ गते आइतबार अपराह्न २ बजे काठमाडौंको खुलामञ्चमा महाधिवेशनको औपचारिक उद्घाटन गर्ने तयारी छ। त्यसपछि असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ भने नयाँ नेतृत्व चयनका लागि असोज २१ र २२ गते निर्वाचन कार्यक्रम तय गरिएको छ।

हाल देशभर प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमार्फत महाधिवेशन प्रतिनिधि छनोटको काम जारी छ। निर्वाचन समितिका अनुसार बिहीबारसम्म सबै निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक हुने अपेक्षा गरिएको छ।

प्रतिनिधिको सङ्ख्या बढ्यो

१४औँ महाधिवेशनमा ४ हजार ७ सय ४३ जना प्रतिनिधि सहभागी भएका थिए। यसपटक विधान संशोधन गरी प्रतिनिधित्वको दायरा फराकिलो बनाइएकाले प्रतिनिधिको सङ्ख्या बढेको हो।

यसअघि प्रत्येक निर्वाचन क्षेत्रबाट २४ जना प्रतिनिधि निर्वाचित हुने व्यवस्था रहेकामा यसपटक ३३ जनाका दरले १६५ निर्वाचन क्षेत्रबाट ५ हजार ४ सय ४५ जना प्रतिनिधि प्रत्यक्ष निर्वाचित भएर आउनेछन्।

त्यस्तै, गाउँपालिका तथा नगरपालिकाका सभापति र प्रदेशसभा क्षेत्रीय सभापति पदेन प्रतिनिधि हुने व्यवस्थासमेत रहेकाले प्रतिनिधिको सङ्ख्या ६ हजार ५ सय २८ पुग्नेछ।

युवा तथा समावेशी प्रतिनिधित्वमा जोड

महाधिवेशनमा युवा तथा समावेशी सहभागिता बढाउन प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा तीन जना ३५ वर्षमुनिका युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

त्यस्तै, प्रजातन्त्रका सेनानी, सहिद परिवार, द्वन्द्वपीडित, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति तथा पेसागत विषयविज्ञबाट समेत एक–एक जना प्रतिनिधि थपिने व्यवस्था गरिएको छ।

विदेशस्थित ३७ वटा जनसम्पर्क समितिमध्ये महाधिवेशनमा सहभागी हुने २८ समितिबाट करिब दुई सय प्रतिनिधि सहभागी हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्।

प्रतिनिधिको सङ्ख्या बढेसँगै महाधिवेशनको व्यवस्थापनका लागि खुलामञ्चमा टेन्ट निर्माण गरी उद्घाटन तथा बन्दसत्र सञ्चालन गर्ने तयारी गरिएको कांग्रेसले जनाएको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!