काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत देशभरबाट झण्डै ४४ हजार युवा पार्टीको विभिन्न पदीय जिम्मेवारीमा निर्वाचित भएका छन्। कांग्रेसको नयाँ विधानअनुसार ३५ वर्षमुनिका युवालाई संगठनका विभिन्न तहमा प्रतिनिधित्व सुनिश्चित गरिएपछि ठूलो संख्यामा युवा नेतृत्वमा आएका हुन्।
पार्टीको विधान मस्यौदा समितिका सदस्य सचिव प्रताप पौडेलका अनुसार ३५ वर्षमुनिका झण्डै ४४ हजार युवाले प्रत्यक्ष रूपमा पदीय जिम्मेवारी पाएका छन्। उनका अनुसार नेपालका राजनीतिक दलहरूको इतिहासमा एकैपटक यति ठूलो संख्यामा युवाले पार्टीको जिम्मेवारी पाएको यो पहिलो घटना हो।
नयाँ विधानअनुसार प्रत्येक वडाबाट ३५ वर्षमुनिका कम्तीमा तीन जना युवा, त्यसमध्ये कम्तीमा एक महिला, क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित हुने व्यवस्था गरिएको छ। देशभरका ६ हजार ७४३ वडाबाट न्यूनतम तीन जनाका दरले २० हजार २२९ जना युवा अनिवार्य रूपमा निर्वाचित भएका छन्।
क्रियाशील सदस्यको संख्याका आधारमा प्रत्येक वडाबाट न्यूनतम तीनदेखि अधिकतम सात जनासम्म क्षेत्रीय प्रतिनिधि निर्वाचित हुन सक्ने व्यवस्था छ। औसतमा पाँच जना युवा निर्वाचित भएको आधारमा ३३ हजार ७१५ जना युवा क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित भएको बताइएको छ।
यसैगरी, स्थानीय तहको वडा कार्यसमितिमा पनि युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। गाउँपालिकाका प्रत्येक वडाबाट एक जना र नगरपालिकाका प्रत्येक वडाबाट दुई जनाका दरले युवा कार्यसमिति सदस्य निर्वाचित भएका छन्। हाल गाउँपालिकाका ३ हजार २१५ वडा र नगरपालिकाका ३ हजार ५२८ वडा रहेका छन्। यसअनुसार गाउँपालिकातर्फ ३ हजार २१५ र नगरपालिकातर्फ ७ हजार ५६ गरी कुल १० हजार २७१ युवा वडा कार्यसमिति सदस्य बनेका छन्।
यसरी ३३ हजार ७१५ क्षेत्रीय प्रतिनिधि र १० हजार २७१ वडा कार्यसमिति सदस्य गरी कुल ४३ हजार ९८६ युवा प्रत्यक्ष रूपमा पार्टीको पदीय जिम्मेवारीमा पुगेका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालका अनुसार यी पदमा निर्वाचित हुन कम्तीमा दोब्बर संख्यामा उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। यस आधारमा महाधिवेशनको निर्वाचन प्रक्रियामा झण्डै एक लाख युवाले उम्मेदवारी दिएर प्रतिस्पर्धा गरेको उनले बताए।
क्षेत्रीय प्रतिनिधिहरूमध्येबाट गाउँपालिका तथा नगरपालिकाका कार्यसमितिमा एक महिलासहित कम्तीमा तीन जना चयन भइसकेका छन्। त्यस्तै, प्रदेश निर्वाचन क्षेत्रको कार्यसमिति, संघीय निर्वाचन क्षेत्रको कार्यसमिति तथा जिल्ला कार्यसमितिमा पनि युवाको प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ।
निर्वाचन समितिका अनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा एक महिलासहित तीन जनाका दरले देशभरबाट ४९५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन हुनेछन्। त्यस्तै, प्रत्येक निर्वाचन क्षेत्रबाट एक जनाका दरले १६५ जना महासमिति सदस्य चयन हुनेछन्।
नयाँ विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट एक महिलासहित दुई जना प्रदेश प्रतिनिधि रहने व्यवस्था गरिएको छ। सातै प्रदेशमा दुई महिलासहित कम्तीमा पाँच जना प्रदेश कार्यसमिति सदस्य रहनेछन्।
केन्द्रीय कार्यसमितिमा पनि पहिलोपटक प्रत्येक प्रदेशबाट एक युवा र एक युवतीका दरले कुल १४ जना युवाको प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ।
विधान मस्यौदा समितिका सदस्य सचिव पौडेलले ठूलो संख्यामा युवाले पार्टीका विभिन्न तहमा पदीय जिम्मेवारी पाएको र करिब एक लाख युवाले निर्वाचनमा प्रतिस्पर्धा गरेको दाबी गर्दै कांग्रेसको संगठनमा युवाको प्रतिनिधित्व उल्लेख्य रूपमा बढेको बताए।