काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ४७० जना सवारी चालकलाई कारबाही गरेको छ।
आइतबार बिहानसम्म सञ्चालन गरिएको ट्राफिक जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७० जना, सिसिटिभी निगरानीमार्फत ३९ जना तथा रातोबत्ती उल्लंघन गर्ने २५ जना चालक कारबाहीमा परेका छन्।
त्यस्तै, तीव्र गतिमा सवारी चलाउने ९१ जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने पाँच जना तथा सवारीसाधनको अवस्था ठीक नभएका छ जना चालकलाई कारबाही गरिएको छ।
अन्य नियम उल्लंघनमा २३१ जना चालक कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ।