काठमाडौं । काठमाडौंको कलंकीस्थित सडकखण्डमा धारिलो हतियार देखाएर मोबाइल लुटपाट गरेको आरोपमा एक महिलासहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–१ घर भई हाल काठमाडौंको कलंकी बस्ने ३३ वर्षीय राजकुमार श्रेष्ठ, काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ घर भई कलंकी बस्ने २८ वर्षीय सागर तामाङ र कास्कीको पोखरा घर भई कलंकी बस्ने २८ वर्षीया सन्ध्या तामाङ रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंसिर ३ गते बिहान करिब ३:४२ बजे काठमाडौं महानगरपालिका–१४, कलंकीस्थित सडकखण्डमा उनीहरूले धारिलो हतियार देखाएर धाकधम्की दिँदै मोबाइल लुटपाट गरेका थिए । घटनापछि फरार भएका उनीहरूको खोजीमा प्रहरी वृत्त कालिमाटीबाट टोली परिचालन गरिएको थियो ।
खोजतलासका क्रममा कलंकीस्थित बाबा पेट्रोल पम्प नजिक सडकखण्डबाट भाग्दै गरेको अवस्थामा लुटिएका मोबाइलसहित तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले धारिलो हतियार देखाएर लुटपाट गरी भाग्दै गरेका तीन जनालाई लुटिएका मोबाइलसहित पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका तीनै जनाविरुद्ध चोरीसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिएर प्रहरी वृत्त कालिमाटीले थप अनुसन्धान अघि बढाएको छ ।