काठमाडौं । काठमाडौंको टोखामा प्रहरी हवल्दार डोलनाथ ढकालले आफैँलाई गोली प्रहार गरेका छन् । गोली लागेर गम्भीर घाइते भएका ढकालको उपचारका क्रममा मृत्यु भएको छ ।
टोखा नगरपालिका–१ स्थित आफ्नै घरमा बिहीबार साँझ उनले गोली प्रहार गरेका हुन् । गोली लागेर टाउकोमा चोट पुगेका ढकाललाई परिवारका सदस्यले तत्काल त्रिवि शिक्षण अस्पताल पुर्याएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले रातोपाटीलाई जानकारी दिए ।
ढकाल उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ)का रूपमा कार्यरत थिए । न्यायाधीशको सुरक्षाका लागि आफूसँग रहेको पेस्तोलबाट गोली चलेको बताइएको छ ।
घटनाको कारणबारे प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको छ ।