कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ मा गए राति जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय झलारीका अनुसार जङ्गली हात्तीको आक्रमणमा परी स्थानीय ६० वर्षीया लक्ष्मी डगौंराको घटनास्थलमै मृत्यु भएको हो।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने तारापुर शिविरमा राति जङ्गली हात्तीको बथान पसेर आक्रमण गरेको थियो। हात्तीको बथानले लक्ष्मीको घर भत्काउनुका साथै उनलाई कुल्चिएर ज्यान लिएको स्थानीय बासिन्दा छलिलाल डगौंराले बताएका छन्।
छलिलालका अनुसार घटनाका बेला लक्ष्मी र उनका श्रीमान् मोहन डगौंरा घरभित्र सुतिरहेका थिए। हात्तीको बथानले घरमा आक्रमण गरेपछि मोहन भागेर ज्यान जोगाउन सफल भएका थिए।
घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी र निकुञ्ज प्रशासनको टोली घटनास्थलमा पुगेको छ।