काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न विशेष समिति गठन गरेको छ।
पार्टीका महामन्त्री विपिन आचार्यको संयोजकत्वमा उम्मेदवार छनोट समिति गठन गरिएको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
समितिका सदस्यमा मिलन लिम्बु, रहबर अन्सारी, तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त वैद्धिक, टासी ल्हाजोम र जनकसिंह धामी रहेका छन्।
समितिलाई समावेशी र सन्तुलित बनाउन सातै प्रदेशको प्रतिनिधित्व हुने गरी संरचना तयार गरिएको प्रवक्ता खरेलले बताए। उनका अनुसार सातै प्रदेशका रास्वपा प्रदेश सभापतिहरू समितिमा पदेन सदस्य रहने व्यवस्था गरिएको छ।
केन्द्रीय समितिको बैठकपछि जानकारी दिँदै प्रवक्ता खरेलले समितिमा केही सदस्य मनोनयन गर्न बाँकी रहेको बताए। बाँकी सदस्यहरूलाई समेत चाँडै मनोनयन गरी समितिलाई पूर्णता दिइने उनले स्पष्ट पारे।