हिरासतमा रहेका इनम सापकोटाको जीवन रक्षा र मानव अधिकार संरक्षण माग्दै आयोगमा उजुरी

हिरासतमा रहेका इनम सापकोटाको जीवन रक्षा र मानव अधिकार संरक्षण माग्दै आयोगमा उजुरी

काठमाडौं । प्रहरी हिरासतमा रहेका इनम सापकोटाको जीवन रक्षा तथा मानव अधिकार संरक्षणको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ । सापकोटाकी श्रीमती कविता पाण्डेले शुक्रबार आयोगमा पुगेर श्रीमान्‌को रिहाइ र सुरक्षाको मागसहित निवेदन दर्ता गराएकी हुन् ।

आयोग स्रोतले उजुरी दर्ता भएको पुष्टि गर्दै घटनाबारे छानबिन सुरु गरिने जनाएको छ । आयोग स्रोतले भन्यो, ‘आज उजुरी परेको हो र दर्ता भइसकेको छ । अब हामी अनुसन्धान गर्न जान्छौँ । हिरासतमा रहेका व्यक्तिहरूको पनि आधारभूत मानव अधिकार हुन्छ । त्यसैले कानुनबमोजिमको व्यवहार र मानव अधिकार परिपूर्ति भएको छ कि छैन भनेर सूक्ष्म अनुसन्धान गर्नेछौँ ।’

निवेदकले प्रहरीले सापकोटालाई गैरकानुनी रूपमा नियन्त्रणमा लिएर विभिन्न झूटा मुद्दामा फसाउने प्रपञ्च रचेको गम्भीर आरोप लगाएकी छन् । आयोगमा बुझाइएको निवेदनअनुसार २०८३ असोज १४ गते बिहान नयाँदिल्ली जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

बोर्डिङ पास लिएर अन्तिम सुरक्षा जाँच कक्षमा पुगेका बेला प्रहरीले साथमा रहेका दुईवटा मोबाइल खोसेको र आँखामा पट्टी बाँधेर अज्ञात स्थानमा पुर्‍याएको दाबी निवेदनमा गरिएको छ ।

असोज १४ देखि १५ गते साँझसम्म अज्ञात स्थलमा बन्धक बनाएर प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, उनका भाइ तथा छोरा, नेपाली कांग्रेसका सभापति गगन थापा, नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ र हिमालय होटलका नवीन तुलाधरलगायतका व्यक्तिविरुद्ध बयान दिन चर्को दबाब दिएको निवेदकको भनाइ छ ।

ती व्यक्तिविरुद्ध प्रमाण र बयान दिए छाडिदिने प्रलोभन देखाउँदै आफू र परिवारलाई समेत ज्यानको खतरा हुने धम्की दिएको दाबी निवेदनमा उल्लेख छ । प्रहरीले तयार पारेको कागजमा आफूले नगरेका र थाहा नभएका विषय लेखिएको भन्दै हस्ताक्षर गर्न अस्वीकार गरेपछि मानसिक यातना दिइएको उनको जिकिर छ ।

निवेदनअनुसार प्रहरीले सापकोटालाई जिल्ला प्रहरी परिसर भद्रकाली पुर्‍याएर थुनामा राखेको थियो । भोलिपल्ट काठमाडौंको पानीपोखरीस्थित निवासमा लगेर खानतलासी गरिएको थियो ।

खानतलासीका क्रममा पुरानो ल्यापटप, मोबाइल र सुटकेसभित्र रहेको विदेशी मुद्रा बरामद भएको भन्दै मुचुल्का तयार पारिएको उनको आरोप छ । विमानस्थलबाट दुई दिनअघि नै खोसिएको आइफोनसमेत घरबाट बरामद भएको देखाउन खोजिएको उनले दाबी गरेकी छन् ।

यसैगरी, प्रहरीले उनलाई विमानस्थलअगाडिको सार्वजनिक सडकमा महिला तथा सर्वसाधारणमाथि अभद्र व्यवहार गरेको आरोपमा मुद्दा चलाएको थियो । तर, आफूलाई सडकबाट नभई विमानस्थलको आन्तरिक सुरक्षा कक्षबाटै पक्राउ गरिएको दाबी गर्दै उनले सत्यतथ्य पत्ता लगाउन विमानस्थलको सीसीटीभी फुटेज जाँच गर्न माग गरेकी छन् ।

सुरुमा अभद्र व्यवहारको आरोपमा पक्राउ गरिएका सापकोटाको साथबाट १ हजार ३०० अमेरिकी डलर र केही भारतीय रुपैयाँ बरामद भएको भन्दै प्रहरीले विदेशी विनिमयसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो ।

पछि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दासमेत थपेर निरन्तर थुनामा राख्ने प्रयास गरिएको निवेदकको आरोप छ । आफूले बोकेको विदेशी मुद्रा नेपाल राष्ट्र बैंकको विदेशी विनिमय कारोबारसम्बन्धी प्रचलित व्यवस्थाअनुसार कानुनसम्मत रहेको उनको दाबी छ ।

प्रहरीले विभिन्न व्यक्तिसँग जोडिएका अडियो तथा राजनीतिक र न्यायिक विषयमा आफूले भन्दै नभनेका कुरा स्वीकार गर्न दबाब दिएको उल्लेख गर्दै सापकोटाले गैरकानुनी थुना र मानसिक यातनाबाट मुक्त गरी आफ्नो जीवन रक्षा गरिदिन आयोगसमक्ष आग्रह गरेका छन् ।

पछिल्लो समय न्यायिक, राजनीतिक तथा व्यावसायिक क्षेत्रका चर्चित व्यक्तिहरूलाई जोडेर भइरहेका विभिन्न अनुसन्धान र पक्राउका शृङ्खलाबीच सापकोटाको उजुरीले प्रहरीको अनुसन्धान प्रक्रियामाथि समेत गम्भीर प्रश्न उठाएको छ ।

लिङ्क सफलतापूर्वक कापि गरियो!