पूर्वमन्त्री मातृका यादवका नाति १३ लाख ७० हजार रुपैयाँ ठगी आरोपमा पक्राउ

पूर्वमन्त्री मातृका यादवका नाति १३ लाख ७० हजार रुपैयाँ ठगी आरोपमा पक्राउ

सिरहा । पूर्वमन्त्री तथा नेकपाका नेता मातृका प्रसाद यादवका नाति सन्तुलन कुमार यादव ठगीसम्बन्धी कसुरमा पक्राउ परेका छन् । पूर्वमन्त्री यादवकी छोरी सङ्गीता देवी यादवका छोरा करिब २५ वर्षीय सन्तुलनलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार मिर्चैया नगरपालिका–६ निवासी यादवले सोही वडाका अली भनिने गुलाम गौससँग आमाको बिरामी भएको बहाना बनाएर पटक–पटक गरी १३ लाख ७० हजार ७५० रुपैयाँ लिएको आरोप छ । पीडितको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यादवले खल्ती एप, बैंक ट्रान्सफर तथा नगदमार्फत उक्त रकम लिएको प्रहरीको भनाइ छ ।

पीडित गुलाम गौसले पटक–पटक रकम फिर्ता माग्दा यादवले आजभोलि भन्दै आश्वासन दिए पनि रकम फिर्ता नगरेपछि प्रहरीमा उजुरी दिएका थिए ।

यादवले गुलाम गौससँग मात्रै नभई अन्य व्यक्तिसँग समेत लाखौँ रुपैयाँ ठगी गरेको आरोप लागेको छ ।

प्रहरीले उनलाई गत आइतबार नै पक्राउ गरे पनि पक्राउबारे सार्वजनिक गर्न ढिलाइ गरेको थियो । पक्राउबारे सार्वजनिक जानकारी दिन राजनीतिक दबाब परेको स्रोतको दाबी छ । यस विषयमा इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुखसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेशबहादुर पालले मिर्चैया प्रहरीले पाँच दिनअघि नै यादवलाई पक्राउ गरे पनि पक्राउसम्बन्धी विवरण आफूलाई बिहीबार मात्रै प्राप्त भएको बताए ।

उनका अनुसार यादवमाथि एक व्यक्तिसँग मात्रै नभई अन्य धेरै व्यक्तिबाट समेत लाखौँ रुपैयाँ ठगी गरेको आरोप छ । प्रहरीले उनीविरुद्ध ठगीसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

यसैबीच, पूर्वमन्त्री मातृका प्रसाद यादवले आफ्ना नातिलाई छुटाउन राजनीतिक दबाब दिइरहेको स्रोतको दाबी छ । यद्यपि, यस विषयमा पूर्वमन्त्री यादवको आधिकारिक प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

लिङ्क सफलतापूर्वक कापि गरियो!