बोडे होल्डिङ सेन्टरका विस्थापित सुकुमबासी परिवार संकटमा, खाना र पानीसमेत बन्द

बोडे होल्डिङ सेन्टरका विस्थापित सुकुमबासी परिवार संकटमा, खाना र पानीसमेत बन्द

काठमाडौं । भक्तपुरको मध्यपुर थिमिस्थित बोडेमा रहेको कृषि विकास बैंकको तालिम केन्द्र (होल्डिङ सेन्टर) मा आश्रय लिइरहेका बागमती नदी किनारका विस्थापित सुकुमबासी परिवार गम्भीर संकटमा परेका छन् ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले मंसिर ११ गते दिउँसो २ बजेभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएपछि त्यहाँ रहेका परिवार अन्योल र त्रासमा परेका हुन् । अघिल्लो साँझदेखि माइकमार्फत स्थान खाली गर्न चेतावनी दिइएको र शुक्रबार बिहानदेखि खाना तथा पानीको आपूर्तिसमेत बन्द गरिएको पीडितहरूले गुनासो गरेका छन् । बालबालिका, वृद्धवृद्धा र बिरामीहरू भोकभोकै बस्न बाध्य भएको उनीहरूको भनाइ छ ।

सरकारले कानुनी प्रक्रिया र घरभाडा सुविधाको व्यवस्था अघि सारे पनि विस्थापित परिवारले आफूहरूलाई पर्याप्त समय र वैकल्पिक व्यवस्थाबिना हटाउन खोजिएको भन्दै आपत्ति जनाएका छन् । थापाथलीलगायत नदी किनारका बस्तीबाट हटाइएपछि उनीहरूको संकट सुरु भएको हो । त्यसक्रममा घरका सरसामान र जस्तापाता समेत निकाल्न नपाउँदै बस्ती भत्काइएको पीडितहरूको गुनासो छ ।

पहिले उनीहरूलाई कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा राखिएको थियो । त्यहाँ तीन महिना कष्टकर जीवन बिताइरहेका बेला साउन २६ गते बाढी आएपछि उनीहरूको बाँकी सरसामान, खाट, दराज र लत्ताकपडा समेत डुबानमा परेका थिए ।

स्थानीय कृष्णमाया राइगाइँले तरकारी बजारलाई डुबानबाट जोगाउन डोजरले खनेर होल्डिङ सेन्टरतर्फ पानी पसाइदिँदा आफूहरू रातभर डुबेको बताइन् । त्यसपछि प्रधानमन्त्री कार्यालयका प्रतिनिधि बताउने व्यक्तिहरूले सुरक्षित स्थानमा राख्ने, स्थायी क्षतिपूर्ति र आवासको ग्यारेन्टी गर्ने आश्वासन दिएर बोडे ल्याएको भए पनि पाँच महिनादेखि बन्दीजस्तो जीवन बिताउन बाध्य भएको उनको गुनासो छ ।

मंसिर ९ गते सूचना टाँसेर दुई दिनभित्र होल्डिङ सेन्टर खाली गर्न भनिएपछि आफूहरू थप तनावमा परेको उनले बताइन् ।

होल्डिङ सेन्टरमा खाना पकाउने ग्यास र चुल्होसमेत नभएको पीडितहरूले बताएका छन् । सुरुको एक महिना सरकारले खाना उपलब्ध नगराए पनि शान्ति सेवा नामक संस्थाले खाना खुवाउँदै आएको उनीहरूको भनाइ छ । बिहीबार साँझदेखि भाँडाकुँडासमेत उठाएर लगिएको र शुक्रबार बिहानदेखि केही परिवारले खाना तथा पानीसमेत नपाएको पीडितहरूले गुनासो गरेका छन् ।

होल्डिङ सेन्टरमा रहेका ११ जना विद्यार्थी मानसिक तनावका कारण शुक्रबार विद्यालय जान नसकेको स्थानीय निर्मला पासवानले बताइन् । चिया र बिस्कुटको भरमा विद्यालय पठाइएका पाँच विद्यार्थीलाई विद्यालयको गाडीले फिर्ता ल्याउन नमानेपछि कालिमाटीमा अलपत्र परेको उनको गुनासो छ । घरमा बिरामी रहेका भाइसमेत बिहानदेखि पानी र खानाबिना रहेको बताउँदै उनले सरकारले आफूहरूलाई अलपत्र पारेको आरोप लगाइन् ।

६० वर्षको उमेरमा प्रवेश गर्न लागेकी कृष्णमाया सरकारले आफूजस्ता वर्षौंदेखि काठमाडौंमा ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिरहेका गरिबलाई गाउँमा रहेको सानो जग्गाको आधारमा काठमाडौं छाड्न बाध्य पार्न नहुने बताइन् । उनले आफूलाई परेको तनावका कारण प्रेसरको औषधि खानसमेत बिर्सिएको बताउँदै पीडा व्यक्त गरिन् ।

काम र आम्दानी दुवै गुमाएपछि पाँच महिनादेखि उनीहरूको जीवन कठिन बनेको छ । न काममा फर्किन पाएका छन्, न परिवारको गुजारा चलाउने पर्याप्त आधार बाँकी छ । घरबार र रोजगारीको अनिश्चितताले थप मानसिक तनाव बढाएको पीडितहरूको भनाइ छ । कतिपय परिवारका सदस्य गम्भीर मानसिक तनावमा पुगेको उनीहरूले बताएका छन् ।

संयुक्त राष्ट्र सुकुमबासी मोर्चा नेपालका केन्द्रीय सचिव झरवलाल उरावँले सरकारले पटक–पटक १५ दिन, ६० दिन, १०० दिन र छ महिनाको आश्वासन दिएर अहिले अस्थायी घरभाडा सुविधा उपलब्ध गराउँदै जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाए । १० वर्षभन्दा बढी समय बसोबास गरेकालाई लालपुर्जा दिने विगतका प्रतिबद्धता कार्यान्वयन नगरी राज्यले उल्टै दमन गरेको उनको भनाइ छ ।

काठमाडौं महानगरपालिका वडा नं. ११ को मतदाता परिचयपत्र आफूसँग रहेको उल्लेख गर्दै उनले आफूहरूलाई गाउँ फर्किन आग्रह गर्ने अधिकार राज्यसँग नभएको जिकिर गरे ।

वर्गीकरणका आधारमा राज्यको नोटिस

यता सरकार तथा स्थानीय प्रशासनले भने कानुनी प्रक्रिया र भूमि सम्बन्धी अभिलेखको छानबिनका आधारमा होल्डिङ सेन्टर खाली गर्नुपर्ने अवस्था आएको स्पष्ट पारेको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका अनुसार भूमि समस्या समाधान समिति, काठमाडौंको पत्र तथा भूमि व्यवस्थापन र अभिलेख विभाग एवं स्थानीय पालिकाबाट प्राप्त विवरणका आधारमा विस्थापित परिवारको अवस्था वर्गीकरण गरिएको हो ।

प्रशासनका अनुसार बोडेमा आश्रय लिइरहेका परिवारमध्ये सात परिवारका घरमूली वा सदस्यको नाममा अन्यत्र जग्गा देखिएको छ । भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५२क र ५२ख अनुसार उनीहरू भूमिहीन नठहरिने निर्णय भएको प्रशासनले जनाएको छ ।

जग्गा नदेखिएका १२ परिवारको हकमा सम्बन्धित पालिकामा जग्गा उपलब्ध गराउने प्रयोजनका लागि प्रक्रिया अगाडि बढाइएको र निस्सासमेत प्राप्त भइसकेको प्रशासनको भनाइ छ । त्यस्ता परिवारलाई अस्थायी बसोबासका लागि मासिक १५ हजार रुपैयाँका दरले तीन महिनाको वा तोकिएबमोजिम घरभाडा सुविधा उपलब्ध गराउने व्यवस्था रहेको भन्दै आफ्नै व्यवस्थापन गर्न आग्रह गरिएको प्रशासनले जनाएको छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले परिवारहरूको भूमि सम्बन्धी विवरण तथा अभिलेख छानबिन गर्दा सात परिवारको नाममा अन्यत्र जग्गाजमिन रहेको देखिएको बताए ।

रातोपाटीसँग कुरा गर्दै खड्काले जग्गा देखिएका सात परिवार भूमिहीन नठहरिएकाले होल्डिङ सेन्टरमा बस्न नमिल्ने बताए ।

उनले भने, ‘उहाँहरूमध्ये सात परिवारको नाममा जग्गाजमिन देखिएको हुनाले उहाँहरू भूमिहीन देखिनुभएन । आफ्नो नाममा जमिन देखिएपछि र भूमिहीन नठहरिएपछि उहाँहरू होल्डिङ सेन्टरमा बस्न मिलेन, जानैपर्ने हुन्छ ।’

बाँकी १२ परिवारको हकमा भने छानबिनका क्रममा अन्यत्र जग्गा नदेखिएकाले भूमिहीन ठहरिएको प्रशासनले जनाएको छ । ती परिवारलाई सम्बन्धित पालिकामा जग्गा उपलब्ध गराउने प्रक्रिया अगाडि बढाइएको र निस्सासमेत प्राप्त भइसकेको प्रशासनको सूचनामा उल्लेख छ ।

लिङ्क सफलतापूर्वक कापि गरियो!