काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा रुस र जर्मनीबीचको तनाव पुनः सतहमा आएको छ। रुसी विदेशमन्त्री सर्गेई लाभरोभले जर्मनीले रुसलाई ‘तनाव बढाउने खतरनाक बाटो’ त्याग्न गरेको आग्रह अस्वीकार गर्दै बर्लिनमाथि युक्रेनको प्रमुख समर्थक बनेको र युरोपमा सैन्य शक्ति विस्तार गर्न खोजेको आरोप लगाएका छन्।
लाभरोभले संयुक्त राष्ट्रसंघमा सम्बोधन गर्दै जर्मनीको वर्तमान नीतिको सम्भावित परिणामबारे प्रश्न उठाएका थिए। उनले दोस्रो विश्वयुद्धको इतिहास स्मरण गर्दै बर्लिनले विगतबाट पाठ सिक्नुपर्ने संकेत गरेका थिए।
महासभाकै क्रममा लाभरोभ र जर्मन विदेशमन्त्री जोहान वाडेफुलबीच २०२२ मा रुसले युक्रेनमाथि पूर्ण सैन्य आक्रमण सुरु गरेपछि पहिलोपटक आमनेसामने भेटवार्ता भएको थियो। जर्मन पक्षको आग्रहमा भएको उक्त भेटमा द्विपक्षीय सम्बन्ध र युक्रेन युद्धबारे छलफल भएको रुसी विदेश मन्त्रालयले जनाएको छ।
भेटवार्तापछि लाभरोभले जर्मन समकक्षीबाट सार्वजनिक रूपमा जर्मनीले राख्दै आएको अडानभन्दा नयाँ कुरा आफूले नपाएको बताएका थिए। जर्मन पक्षले भने रुसलाई जर्मनी, युरोप र नेटोसँगको सम्बन्धमा तनाव बढाउने बाटोबाट पछि हट्न आग्रह गरेको जनाएको छ।
यसैबीच, लाभरोभले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यताका लागि जर्मनी र जापानको दाबीप्रति पनि असहमति जनाएका छन्। उनले यी दुई देशलाई स्थायी सदस्य बनाउने प्रयासमा रुसले भिटो प्रयोग गर्ने बताएका छन्। रुसले भने सुरक्षा परिषद्को स्थायी सदस्य संख्या विस्तारको अवधारणालाई समर्थन गर्दै आएको छ।
लाभरोभले पश्चिमी देशहरूले रुसलाई रणनीतिक पराजय गराउने प्रयास गरिरहेको दाबी गर्दै त्यसबाट रणनीतिक गतिरोध उत्पन्न हुन सक्ने बताएका छन्।
उता, जर्मन विदेशमन्त्री वाडेफुलले महासभामा रुसको युक्रेनमाथिको युद्धका कारण ठूलो मानवीय तथा क्षेत्रीय क्षति भइरहेको बताएका छन्। उनले रुसलाई युद्ध अन्त्य गर्न वार्ताको बाटोमा आउन आग्रह गरेका छन्।
रुस र जर्मनीबीचको सम्बन्ध २०२२ पछि निकै तनावपूर्ण रहँदै आएको छ। पछिल्लो समय जर्मनीमा भएको ड्रोनसम्बन्धी घटनालाई लिएर पनि दुवै देशबीच आरोप–प्रत्यारोप भएको छ। जर्मनीले त्यसमा रुस जिम्मेवार रहेको निष्कर्ष निकालेको जनाएको छ भने रुसी पक्षले आरोप अस्वीकार गरेको छ।