अमेरिकी सेनाले माझीको डुङ्गामा ड्रोन आक्रमण गरेको आरोप, ट्रम्प प्रशासनविरुद्ध मुद्दा

अमेरिकी सेनाले माझीको डुङ्गामा ड्रोन आक्रमण गरेको आरोप, ट्रम्प प्रशासनविरुद्ध मुद्दा

काठमाडौं । लागुऔषध तस्करीको आशङ्कामा समुद्रमा भइरहेको अमेरिकी सैन्य कारबाहीमाथि फेरि प्रश्न उठेको छ । इक्वेडरका माझीहरूको एक समूहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनविरुद्ध मुद्दा दायर गर्दै आफूहरूलाई लागुऔषध तस्कर ठानेर अमेरिकी सेनाले ड्रोन आक्रमण गरेको आरोप लगाएको छ ।

माझीहरूका अनुसार अमेरिकी सेनाको आक्रमणबाट उनीहरू सवार डुङ्गा जलेर नष्ट भएको थियो भने दुई जना गम्भीर घाइते भएका थिए ।

अमेरिकाको समुद्री कानुनअन्तर्गत पिट्सबर्गस्थित सङ्घीय अदालतमा मुद्दा दायर गरिएको हो । मुद्दामा कथित आक्रमण, गैरकानुनी हिरासत र यातनाका लागि क्षतिपूर्ति माग गरिएको छ । माझीहरूका वकिल ड्यानियल कोवालिकका अनुसार समुद्रमा यस्ता आक्रमण रोक्न आदेश दिनसमेत अदालतसँग माग गरिएको छ । यस विषयमा पेन्टागन र ह्वाइट हाउसले तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् ।

मुद्दाका अनुसार घटना यसै वर्षको मार्च १७ मा इक्वेडरको तट नजिकै पूर्वी प्रशान्त महासागरमा भएको थियो । माछा मारेर फर्किरहेको ‘ला नेग्रा फ्रान्सेस्का डुआर्टे २’ नामक डुङ्गामा अमेरिकी ड्रोनबाट आक्रमण गरिएको थियो । उक्त डुङ्गामा १६ जना माझी सवार थिए । आक्रमणपछि डुङ्गामा आगलागी हुँदा उनीहरू समुद्रमा हामफालेर ज्यान जोगाउन बाध्य भएका थिए ।

माझीहरूको दाबीअनुसार इक्वेडरका अधिकारीहरूले तीन घण्टासम्म अनुसन्धान गर्दा डुङ्गा र त्यसका चालक दल कुनै पनि गैरकानुनी गतिविधिमा संलग्न रहेको प्रमाण फेला पारेका थिएनन् । त्यसका बाबजुद अमेरिकी सेनाले आक्रमण गरेको उनीहरूको आरोप छ ।

आक्रमणपछि अमेरिकी सैन्यकर्मीहरूले आफूहरूलाई पक्राउ गरेको माझीहरूले बताएका छन् । उनीहरूका अनुसार हात बाँधेर टाउकोमा हुड लगाइएको थियो । करिब २४ घण्टासम्म बन्धक बनाएर राख्दा अमानवीय व्यवहार गरिएको र पर्याप्त खानेपानी तथा खाना पनि नदिइएको मुद्दामा उल्लेख छ ।

त्यसपछि उनीहरूलाई अल साल्भाडोर जाने एक पानीजहाजमा पठाइएको थियो । माझीहरूका अनुसार उनीहरू सात दिनसम्म उक्त जहाजमा बसेका थिए । पछि अल साल्भाडोर पुर्‍याइएका उनीहरूमध्ये घाइते दुई जनालाई अस्पताल भर्ना गरिएको थियो भने बाँकीलाई आप्रवासीका लागि बनाइएको केन्द्रमा राखिएको थियो । मार्चको अन्त्यसम्म सबैलाई इक्वेडर फिर्ता पठाइएको थियो ।

ट्रम्प प्रशासनको समुद्री सैन्य कारबाहीविरुद्ध दायर भएको यो दोस्रो कानुनी चुनौती हो । अमेरिकी प्रशासनले सन् २०२५ सेप्टेम्बरदेखि क्यारिबियन र प्रशान्त महासागरमा लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएका डुङ्गाहरूलाई निसाना बनाउँदै आएको छ । प्रशासनले त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई ‘नार्को टेररिस्ट’ भन्दै आएको छ ।

माझीहरूले दायर गरेको मुद्दामा सन् २०२५ सेप्टेम्बरदेखि हालसम्म अमेरिकी सैन्य कारबाहीमा कम्तीमा २४० जना मारिएको दाबी गरिएको छ । यद्यपि, निसाना बनाइएका डुङ्गाहरूमा वास्तवमै लागुऔषध रहेको प्रमाण अमेरिकी अधिकारीहरूले सार्वजनिक रूपमा निकै कम प्रस्तुत गरेका छन् ।

लिङ्क सफलतापूर्वक कापि गरियो!