काठमाडौँ । जर्मन रक्षा सामग्री उत्पादक कम्पनी क्वान्टम सिस्टम्स साइबर आक्रमणको निशानामा परेको छ। गत महिना भएको उक्त आक्रमणपछि जर्मन सेनाले सावधानीस्वरूप कम्पनीद्वारा निर्मित आफ्ना केही ड्रोनको उडान अस्थायी रूपमा रोक्नुपरेको थियो। घटनामा रुसको संलग्नता रहेको आशङ्का गरिएको स्रोतहरूले शुक्रबार बताएका छन्।
रुसविरुद्धको युद्धमा युक्रेनलाई सैन्य सामग्री आपूर्ति गर्दै आएका युरोपेली रक्षा कम्पनीहरू पछिल्लो समय साइबर आक्रमणको निशानामा पर्दै आएका छन्। साइबर आक्रमणका अतिरिक्त यस्ता कम्पनीका कारखानामा विस्फोट गराउने, कार्यालयमा पेट्रोल बम प्रहार गर्ने तथा उच्च अधिकारीहरूविरुद्ध हत्याको षड्यन्त्र रच्नेजस्ता घटना पनि भएका छन्।
म्युनिखनजिकै अवस्थित क्वान्टम सिस्टम्सले टोही ड्रोन तथा अन्य मानवरहित प्रणाली उत्पादन गर्दै आएको छ। कम्पनीका अनुसार अक्टोबरको अन्त्यतिर एउटा ‘शत्रुतापूर्ण समूह’ ले उसको प्रणालीमाथि साइबर आक्रमण गरेको थियो।
कम्पनीले विज्ञप्ति जारी गर्दै सरकारी निकायसँगको निकट सहकार्य तथा सूचना प्रविधि र सुरक्षा टोलीको तत्काल प्रतिक्रियाका कारण साइबर आक्रमणको खतरा नियन्त्रणमा लिन सफल भएको जनाएको छ। कम्पनीले आफ्नो प्रणालीको सञ्चालनमा कुनै जोखिम नरहेको दाबी गरे पनि घटनाबारे थप विवरण दिन अस्वीकार गरेको छ।
घटनाबारे जानकार एक स्रोतका अनुसार ड्रोनको नियन्त्रण तथा उडान योजना तयार गर्ने प्रणालीमा अद्यावधिक सूचना पठाउने सर्भरमार्फत हानिकारक फाइल पठाइएको थियो। आक्रमणको जानकारी पाएपछि जर्मन सेनाले सावधानीका रूपमा क्वान्टमका केही ड्रोनको उडान अस्थायी रूपमा रोकेको थियो।
प्रारम्भिक सङ्केतले आक्रमणमा रुसको संलग्नता रहेको देखाएको र गुप्तचर निकायहरूले घटनाबारे अनुसन्धान गरिरहेको स्रोतले एएफपीलाई जनाएको छ। यस विषयमा टिप्पणीका लागि गरिएको अनुरोधमा जर्मनीको रक्षा मन्त्रालयले तत्काल प्रतिक्रिया दिएको छैन।
युक्रेनको प्रमुख समर्थकमध्ये एक जर्मनीले आफ्नो भूमिमा रुसले साइबर आक्रमण, जासुसी तथा तोडफोडका गतिविधि सञ्चालन गरिरहेको आरोप लगाउँदै आएको छ। तर रुसले यस्ता आरोपमा आफ्नो संलग्नता रहेको कुरा निरन्तर अस्वीकार गर्दै आएको छ।
क्वान्टम सिस्टम्सले पनि साइबर आक्रमणलाई युक्रेनलाई सैन्य सामग्री आपूर्ति गर्ने आफ्नो भूमिकासँग जोडेको छ। कम्पनीका टोही ड्रोन युक्रेनमा प्रयोग हुँदै आएका छन्। साथै, युक्रेनी सेनाका लागि आक्रमणकारी तथा जासुसी ड्रोन उत्पादन गर्ने त्यहाँको एक नवप्रवर्तनशील कम्पनीसँग क्वान्टमको संयुक्त उद्यमसमेत रहेको छ।
कम्पनीका अनुसार युक्रेनलाई सहयोग गर्ने अग्रपङ्क्तिमा रहेका रक्षा कम्पनीहरूलाई नै लक्षित गरेर आक्रमण भइरहेको छ, किनभने उनीहरूको काम ग्राहकहरूको सुरक्षाका लागि अत्यन्त महत्त्वपूर्ण छ।