काठमाडौं । प्रविधि कम्पनी माइक्रोसफ्टका विभिन्न सेवामा बिहीबार कनेक्टिभिटीसम्बन्धी समस्या देखिएको छ। विश्वभरका प्रयोगकर्ताले कम्पनीका टिम्स, आउटलुक र कृत्रिम बुद्धिमत्तामा आधारित सफ्टवेयर कोपाइलटले काम नगरेको गुनासो गरेका छन्।
समस्या देखिएपछि माइक्रोसफ्टले सेवा पुनः सञ्चालनमा ल्याउन प्राविधिक टोली परिचालन गरेको जनाएको छ।
कम्पनीका अनुसार आफ्नो इन्फ्रास्ट्रक्चरको एक हिस्सामा आवश्यकताभन्दा बढी लोड परेका कारण सेवाहरूको कनेक्टिभिटीमा समस्या आएको हो।
माइक्रोसफ्टले यो समस्या सबैभन्दा पहिले अमेरिकामा देखिएको जनाएको छ। यद्यपि, यसबाट विश्वका जुनसुकै क्षेत्रका प्रयोगकर्ता प्रभावित हुन सक्ने कम्पनीको भनाइ छ।
आउटेजसम्बन्धी विवरण सार्वजनिक गर्ने वेबसाइट डाउनडिटेक्टरका अनुसार नेपाली समयअनुसार बिहीबार राति करिब १२:१५ बजे बेलायतमा माइक्रोसफ्टका सेवाबारे गुनासो अचानक बढेको थियो।
त्यस्तै, अमेरिकामा नेपाली समयअनुसार बिहीबार राति करिब ११:३० बजेसम्म माइक्रोसफ्ट आउटलुकमा समस्या आएको भन्दै १ लाख ३१ हजारभन्दा बढी गुनासो दर्ता भएका थिए।
माइक्रोसफ्टका यी सेवामा आएको समस्याले इमेल आदानप्रदान, अनलाइन बैठक तथा एआई सेवाको प्रयोगमा असर पारेको छ।