काठमाडौं । दक्षिणी गाजास्थित नासिर अस्पतालको एक भवनमा भएको इजरायली हवाई आक्रमणमा सर्जनसहित कम्तीमा छ जनाको मृत्यु भएको छ। आक्रमणमा अन्य २० जना घाइते भएका छन्।
हमासको नियन्त्रणमा रहेको सिभिल डिफेन्स एजेन्सीका एक अधिकारीले बीबीसीलाई दिएको जानकारीअनुसार बिहीबार बिहान सबेरै अस्पतालको एक भवनमा इजरायली आक्रमण भएको हो।
प्रत्यक्षदर्शीहरूका अनुसार उक्त क्षेत्रमा केही बेर देखिएको लडाकु विमानबाट प्रहार गरिएको मिसाइल अस्पतालको भवनमा खसेको थियो। उक्त भवनमा सर्जरी वार्ड र सघन उपचार कक्ष (आईसीयू) रहेका थिए।
आक्रमणमा मृत्यु हुनेमध्ये एक जना सर्जनसमेत रहेको बताइएको छ।
घटनाबारे इजरायली सेनाले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन। बीबीसीले यस विषयमा इजरायली सेनासँग प्रतिक्रिया मागेको जनाएको छ।
नासिर अस्पताल दक्षिणी गाजाको सबैभन्दा ठूलो अस्पताल हो। यसअघि सन् २०२५ अगस्टमा पनि यहाँ इजरायलले गरेको दोहोरो आक्रमणमा पत्रकार तथा स्वास्थ्यकर्मीसहित कम्तीमा २० जनाको मृत्यु भएको थियो।
गत वर्ष अक्टोबरमा युद्धविराम सम्झौता भए पनि गाजामा इजरायली आक्रमण जारी रहेको छ। हमास सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धविरामपछि भएका आक्रमणमा एक हजार ६०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ। संयुक्त राष्ट्रसङ्घले उक्त मन्त्रालयको तथ्याङ्कलाई विश्वसनीय मान्दै आएको छ।
इजरायल र हमासले भने एकअर्कामाथि युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन्।