काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को भारत भ्रमणको अन्तिम तयारी भइरहेका बेला चीनले पनि उनलाई भ्रमणमा बोलाउन कूटनीतिक पहल थालेको छ ।
प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै चीनले शाहलाई भ्रमणको निम्तो दिएको थियो । तर, त्यतिबेला प्रधानमन्त्री शाहले एक वर्षसम्म कुनै पनि देशको भ्रमण नगर्ने बताएका थिए । त्यसपछि चीन भ्रमणको तयारी स्थगित भएको थियो । अहिले भने चीनले प्रधानमन्त्री शाहलाई छिट्टै भ्रमण गराउने प्रयास थालेको छ ।
यसका लागि नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ सक्रिय भएका छन् । उनले यस विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल तथा प्रधानमन्त्री कार्यालयसँग छलफल गरिसकेको स्रोतले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार चीनले प्रधानमन्त्री शाहलाई छिट्टै भ्रमण गराउन चाहेको छ । यस विषयमा मन्त्रालयसँग पनि छलफल भएको र भ्रमणको प्रारम्भिक तयारीसमेत थालिएको छ ।
राजदूत माओमिङले मंसिर ३ गते परराष्ट्रमन्त्री खनालसँग भेट गरेका थिए । त्यसपछि उनले अर्थमन्त्री वाग्लेसँग पनि भेट गरेका थिए । दुवै भेटमा उनले प्रधानमन्त्री शाहको चीन भ्रमणको प्रस्ताव राखेको स्रोतले जनाएको छ ।
चीनको मुख्य चासो बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनमा रहेको छ । वर्तमान सरकारले बीआरआईबारे कुनै छलफल अघि बढाएको छैन । सरकार गठन भएलगत्तै चीनले विभिन्न माध्यमबाट बीआरआई कार्यान्वयनका लागि पहल गरे पनि सरकारले खासै चासो नदेखाएको बताइएको छ । यसै विषयलाई अघि बढाउन चीनले उच्चस्तरीय भ्रमण गराउन चाहेको स्रोतको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा मन्त्रीहरूले यसअघि नै चीन भ्रमण गरिसकेका छन् । अहिले पनि पार्टीका २० जना सांसद चीन भ्रमणमा छन् । चीनले रास्वपा सभापति रवि लामिछानेलाई समेत भ्रमण गराउन चाहेको थियो । त्यसका लागि तयारी गरी सम्भावित मितिसमेत तय भइसकेको थियो । तर, औपचारिक मिति घोषणा हुनुअघि नै उनको भ्रमण स्थगित भएको थियो ।
अब भने चीनले प्रधानमन्त्री शाहलाई नै भ्रमणमा बोलाउन पहल गरिरहेको छ ।