पोखरा । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको नियमित महाधिवेशनअन्तर्गत सुरु भएको गण्डकी प्रदेश अधिवेशनमा सुरुमै विवाद उत्पन्न भएको छ ।
अधिवेशनको उद्घाटनसत्र सकिएलगत्तै प्रदेश सभापति र महामन्त्री पदमा सर्वसम्मत चयन भएको भन्दै नाम घोषणा गरिएपछि विवाद सुरु भएको हो । निर्वाचन समितिले सभापतिमा मेखलाल श्रेष्ठ र महामन्त्रीमा पोषनाथ शर्मा निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो ।
मुख्य निर्वाचन अधिकृत वीरेन्द्र केसीले श्रेष्ठलाई सभापति र शर्मालाई महामन्त्री पदमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेका थिए । तर, चुनावी कार्यतालिका र निर्वाचन प्रक्रिया नै अघि नबढाई हतारमा निर्विरोध घोषणा गरिएको भन्दै केन्द्रीय स्तरका नेताहरूले आपत्ति जनाएका छन् ।
नेता किरण पौडेलले विरोध जनाएपछि अधिवेशन अन्योलमा परेको छ । उनले निर्णय लोकतान्त्रिक अभ्यास र निर्वाचन विधिविपरीत भएको आरोप लगाएका छन् ।
‘मतदाता नामावलीसमेत प्रकाशन नभएको र निर्वाचन प्रक्रिया विधिवत् सुरु नभएको अवस्थामा निर्विरोध घोषणा गरिनु अस्वाभाविक र आपत्तिजनक छ,’ उनले भने, ‘कम्तीमा मनोनयनपत्र वितरण गरी आकाङ्क्षीहरूको औपचारिक सूची तयार पारेर आवश्यक छलफल र प्रक्रिया पूरा गरेपछि मात्र टुङ्गो लगाइनुपर्थ्यो ।’
नेताहरूले पहिलो अधिवेशन भएकाले सर्वसम्मत रूपमा कार्यसमिति चयन गर्नुपर्ने सुझाव दिएका छन् । सहमति जुटाउन सबै जिल्लाका सभापति र चार जना केन्द्रीय सदस्य रहेको बोर्ड गठन गरिएको छ ।
बोर्डले आकाङ्क्षीहरूसँग छलफल गरी नामावली टुङ्गो लगाउने संयोजक श्रेष्ठले जानकारी दिए ।