प्रधानमन्त्री बालेन शाह आज दुईदिने भारत भ्रमणमा जाँदै

प्रधानमन्त्री बालेन शाह आज दुईदिने भारत भ्रमणमा जाँदै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुईदिने औपचारिक भ्रमणका लागि आज नयाँदिल्ली जाँदै छन्। उहाँ नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत दिउँसो १:४५ बजे दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो छिमेकी मुलुक भारत भ्रमण हो। भ्रमणमा ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डलका साथै निजी क्षेत्रका ५२ जना व्यवसायी पनि सहभागी हुनेछन्।

भ्रमणका क्रममा द्विपक्षीय व्यापार, लगानी, ऊर्जा, पारवहन, पूर्वाधार विकास तथा सम्पर्क सञ्जाल विस्तारका विषयमा छलफल हुनेछ। शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद र विपद् व्यवस्थापनलगायतका क्षेत्रमा सहकार्य विस्तार तथा समझदारीपत्र आदानप्रदान गर्ने तयारीसमेत रहेको छ।

भ्रमणको मुख्य आकर्षण सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने द्विपक्षीय वार्ता हुनेछ। वार्ताका क्रममा दुई देशबीचका महत्त्वपूर्ण सम्झौता तथा समझदारीपत्र आदानप्रदान गर्ने कार्यक्रम रहेको छ।

नेपालमा भारतीय लगानी आकर्षित गर्न तथा दुई देशका निजी क्षेत्रबीच व्यावसायिक साझेदारी विस्तार गर्न भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरम पनि आयोजना गरिनेछ।

दुईदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ ६:३५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत स्वदेश फर्किने कार्यक्रम रहेको छ।

 
 
लिङ्क सफलतापूर्वक कापि गरियो!