परराष्ट्रमन्त्री खनालद्वारा राष्ट्रसङ्घ महासभाका अध्यक्ष रहमानसँग भेटवार्ता

परराष्ट्रमन्त्री खनालद्वारा राष्ट्रसङ्घ महासभाका अध्यक्ष रहमानसँग भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अध्यक्ष डा. खलिलुर रहमानसँग भेटवार्ता गरेका छन्।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको भेटवार्तामा परराष्ट्रमन्त्री खनालले महासभाको ८१औँ अधिवेशनको अध्यक्ष पदमा निर्वाचित भएकोमा डा. रहमानलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। मन्त्रीको सचिवालयका अनुसार खनालले महासभा अध्यक्षको कार्यकालमा नेपालका तर्फबाट पूर्ण सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरे।

भेटका क्रममा महासभा अध्यक्षका प्राथमिकताका विषय तथा संयुक्त राष्ट्रसङ्घलाई केन्द्रमा राख्दै बहुपक्षीयतालाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो।

त्यस अवसरमा नेपालमा हालै गएको विनाशकारी जलवायुजन्य विपद्का कारण भएको जनधन तथा भौतिक क्षतिका विषयमा पनि विचार आदानप्रदान भएको थियो।

लिङ्क सफलतापूर्वक कापि गरियो!