काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह मंसिर ६ देखि ९ गतेसम्म भारतको औपचारिक भ्रमणमा जाने तयारीमा छन् । सरकारको नेतृत्व सम्हालेको साढे आठ महिनापछि हुन लागेको यो उनको पहिलो औपचारिक विदेश भ्रमण हो ।
भ्रमणको मिति र भेटघाटको कार्यतालिका दुवै देशले औपचारिक रूपमा सार्वजनिक गरिसकेका छैनन् । यद्यपि, नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले भ्रमणको तयारी तीव्र पारेका छन् । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धलाई नयाँ आयाम दिने विषयसँगै विभिन्न महत्त्वपूर्ण द्विपक्षीय मुद्दा उठाउनुपर्ने कूटनीतिक जानकारहरूले सुझाव दिएका छन् ।
उनीहरूका अनुसार सीमा विवाद, सन् १९५० को शान्ति तथा मैत्री सन्धिको पुनरवलोकन, प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन कार्यान्वयन, व्यापार असन्तुलन, हवाई प्रवेशमार्ग तथा जलस्रोतको उपयोगलगायतका विषयलाई वार्ताको प्राथमिकतामा राख्न आवश्यक छ ।