काठमाडौँ । नेपालमा पछिल्लो समय मुटुरोगको जोखिम बढ्दै गएको चिकित्सकहरूले बताएका छन्। अस्वस्थ खानपान, धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन, शारीरिक गतिविधिको कमी, मानसिक तनाव, मोटोपन तथा उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोलजस्ता समस्याका कारण मुटुरोगको जोखिम बढिरहेको उनीहरूको भनाइ छ।
मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार पछिल्लो दुई दशकमा नेपालमा मुटुरोगको समस्या उल्लेख्य रूपमा बढेको छ। नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले अहिले करिब ३० प्रतिशत नेपाली कुनै न कुनै मुटुसम्बन्धी समस्याबाट प्रभावित रहेको बताएका छन्।
उनका अनुसार विश्वभर हरेक वर्ष दुई करोडभन्दा बढी मानिसको मुटुरोगका कारण मृत्यु हुने गरेको छ भने नेपालमा पनि ३० हजारभन्दा बढी मानिसको मृत्यु मुटुसम्बन्धी रोगका कारण हुने गरेको छ।
डा. रेग्मीले मुटुरोग जीवनशैलीसँग प्रत्यक्ष रूपमा जोडिएको भन्दै स्वस्थ जीवनशैली अपनाएमा यसको जोखिम धेरै हदसम्म घटाउन सकिने बताए।
धूम्रपान र सुर्ती प्रमुख जोखिम
डा. रेग्मीका अनुसार मुटुरोग बढ्नुका प्रमुख कारणमध्ये धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन एक हो। नेपालमा ठूलो संख्यामा मानिसले चुरोट तथा सुर्ती सेवन गर्ने र यसले मुटुमा प्रत्यक्ष असर पार्ने उनले बताए।
युवा पुस्तामा चुरोट, हुक्का तथा भेपिङको प्रयोग बढ्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरे। हुक्का र इलेक्ट्रोनिक सिगरेटलाई फेसनका रूपमा प्रयोग गर्ने प्रवृत्तिले युवाको मुटु स्वास्थ्यमा जोखिम बढाउन सक्ने उनको भनाइ छ।
त्यस्तै धेरै चिल्लो, गुलियो र नुनिलो खाना, प्याकेट तथा बोतलमा पाइने प्रशोधित खाद्य पदार्थ र तयारी खानेकुराको अत्यधिक सेवनले पनि मुटुको स्वास्थ्यमा असर पार्ने उनले बताए।
शारीरिक गतिविधिको कमी र तनाव पनि जोखिम
आधुनिक जीवनशैलीका कारण मानिसको शारीरिक गतिविधि घट्दै गएको चिकित्सकहरूको भनाइ छ। लामो समयसम्म टेबलमा बसेर काम गर्ने, कम्प्युटर तथा मोबाइल प्रयोग गर्ने र टेलिभिजन हेर्ने बानीका कारण युवासहित धेरै मानिस निष्क्रिय जीवनशैलीतर्फ गइरहेका छन्।
मानसिक तनाव पनि मुटुरोगको जोखिम बढाउने महत्वपूर्ण कारण भएको डा. रेग्मीले बताए। विशेषगरी युवा पुस्तामा बढ्दो तनाव, मोटोपन, उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोललाई समयमै नियन्त्रण नगर्दा मुटुमा गम्भीर असर पर्न सक्ने उनले बताए।
जीवनशैली सुधारसँगै औषधि आवश्यक
मुटुरोगबाट बच्न धूम्रपान तथा सुर्ती सेवन पूर्ण रूपमा त्याग्न, नियमित शारीरिक गतिविधि गर्न, स्वस्थ खानपान अपनाउन, मानसिक तनाव व्यवस्थापन गर्न र पर्याप्त निद्रा लिन डा. रेग्मीले सुझाव दिएका छन्।
हरियो सागपात, फलफूल र गेडागुडी बढी खान तथा जंकफुड, तयारी, तारेका, धेरै नुनिला र गुलिया खानेकुरा कम गर्न उनले आग्रह गरे। दैनिक ६ देखि ८ घण्टा निद्रा लिनुका साथै मोटोपन भएमा तौल नियन्त्रण गर्न र नियमित स्वास्थ्य परीक्षण गर्न पनि उनले सुझाव दिए।
उच्च रक्तचाप, मधुमेह वा कोलेस्ट्रोल देखिएमा जीवनशैली सुधारसँगै चिकित्सकको सल्लाहअनुसार आवश्यक औषधि सेवन गर्नुपर्नेमा उनले जोड दिए।
उनका अनुसार औषधि सुरु गरेपछि स्वास्थ्य अवस्था नियन्त्रणमा आएको भन्दै चिकित्सकको सल्लाहबिना बीचमै औषधि बन्द गर्दा समस्या थप जटिल हुन सक्छ।
हृदयाघातका लक्षण पहिचान गर्न आवश्यक
हृदयाघातका कारण हुने मृत्यु रोक्न समयमै लक्षण पहिचान गर्नु महत्वपूर्ण रहेको डा. रेग्मीले बताए। धेरै मानिसले छाती दुख्दा हृदयाघातको शङ्का नगरी ग्यास्ट्रिक वा अन्य सामान्य समस्या ठान्ने भएकाले अस्पताल पुग्न ढिलाइ हुने गरेको उनले बताए।
छातीको मध्यभागमा असह्य वा लामो समयसम्म पीडा हुनु, सास फेर्न गाह्रो हुनु, अत्यधिक पसिना आउनु तथा दुखाइ बायाँ हात, चिउँडो वा ढाडतिर सर्नु हृदयाघातका सम्भावित लक्षण हुन सक्ने उनले बताए।
कतिपय अवस्थामा छाती दुख्नुको सट्टा पेटको माथिल्लो भागमा दुख्ने वा जलन हुने पनि हुन सक्ने भएकाले यस्ता लक्षणलाई सामान्य ग्यास्ट्रिक भनेर बेवास्ता नगर्न उनले आग्रह गरे।
‘गोल्डेन आवर’मा अस्पताल पुग्न आग्रह
हृदयाघात भएको अवस्थामा जति छिटो उपचार सुरु हुन्छ, त्यति नै मुटुको मांसपेशीमा हुने क्षति कम गर्न सकिने डा. रेग्मीले बताए।
उनका अनुसार छाती दुख्न वा पोल्न सुरु भएको पहिलो एकदेखि दुई घण्टाको समय उपचारका लागि निकै महत्वपूर्ण हुन्छ। यस अवधिमा अस्पतालको आकस्मिक कक्षमा पुगेर उपचार सुरु गर्न उनले आग्रह गरे।
इसीजी सुविधा तथा मुटुरोग विशेषज्ञ उपलब्ध भएको अस्पतालमा जान सके राम्रो हुने भए पनि त्यस्तो सुविधा तत्काल उपलब्ध नभए नजिकको अस्पतालमा पुगेर इसीजी गराउनुपर्ने उनले बताए।
लक्षण नदेखिँदै पनि मुटुरोग हुन सक्छ
मुटुरोगमा सधैँ स्पष्ट लक्षण देखिन्छ भन्ने नभएको डा. रेग्मीले बताए। उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल तथा मुटुसम्बन्धी अन्य समस्यामा लक्षण नदेखिन सक्ने भएकाले नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको उनले बताए।
ब्लड प्रेसर, ब्लड सुगर, कोलेस्ट्रोल र इसीजीजस्ता सामान्य परीक्षणसँगै व्यक्तिको जोखिमअनुसार थप परीक्षण आवश्यक हुन सक्ने उनको भनाइ छ।
परिवारमा कम उमेरमै हृदयाघात भएको इतिहास भएमा त्यसलाई पनि गम्भीर रूपमा लिनुपर्ने उनले बताए।
युवामा पनि बढ्दो हृदयाघात
मुटुरोग अब वृद्ध उमेरका मानिसमा मात्र सीमित नरहेको डा. रेग्मीले बताए। ५० वर्षभन्दा कम उमेरमै हृदयाघात हुने घटना बढिरहेको र २० तथा ३० वर्षका युवामा समेत हृदयाघात देखिन थालेको उनले बताए।
युवामा धूम्रपान, जंकफुड, मानसिक तनाव, शारीरिक गतिविधिको कमी तथा स्वास्थ्यप्रति हुने हेलचेक्र्याइँ प्रमुख जोखिमका रूपमा देखिएको उनको भनाइ छ।
उनले युवाहरूले आफू स्वस्थ र बलियो भएको भन्दै स्वास्थ्य परीक्षण तथा उपचारलाई बेवास्ता गर्न नहुने बताए।
बालबालिकामा पनि सावधानी आवश्यक
बालबालिकामा हुने घाँटीको संक्रमणलाई समेत बेवास्ता नगर्न डा. रेग्मीले आग्रह गरेका छन्। विशेषगरी ५ देखि १५ वर्ष उमेर समूहमा पटक–पटक टन्सिल पाक्ने वा घाँटीमा संक्रमण हुने र समयमै उपचार नहुँदा त्यसको असर मुटुसम्म पुग्न सक्ने उनले बताए।
स्ट्रेप्टोकोकस जीवाणुका कारण हुने घाँटीको संक्रमणको समयमै उपचार नगर्दा बाथज्वरो हुँदै मुटुको भल्भमा असर पर्न सक्ने उनले बताए।
घाँटीको संक्रमणपछि जोर्नी दुख्ने वा सुन्निने तथा ज्वरो आउने समस्या देखिएमा चिकित्सकको सल्लाहअनुसार मुटुको परीक्षण गर्नुपर्ने उनको सुझाव छ।
उपचार सेवामा विकास, रोकथाममा चुनौती
नेपालमा पछिल्लो तीन दशकमा मुटुरोग उपचार सेवामा उल्लेखनीय विकास भएको डा. रेग्मीले बताए। शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको स्थापनापछि विशिष्टीकृत मुटु उपचार सेवाको विकास भएको र अहिले एन्जियोप्लास्टी, पेसमेकर, जटिल शल्यक्रिया तथा भल्भसम्बन्धी उपचारसमेत नेपालमै उपलब्ध रहेको उनले बताए।
तर मुटु उपचार सेवा अझै पनि मुख्यतः काठमाडौँ केन्द्रित रहेको उनको भनाइ छ। पोखरा, चितवन र विराटनगरजस्ता ठूला सहरमा सेवा विस्तार भए पनि देशका अन्य क्षेत्रमा पनि मुटु उपचार सेवा विस्तार र विकेन्द्रीकरण आवश्यक रहेको उनले बताए।
सरकारले उपचारसँगै रोगको रोकथाममा पनि लगानी बढाउनुपर्ने डा. रेग्मीको भनाइ छ। स्वस्थ जीवनशैलीका लागि हिँड्ने स्थानको व्यवस्था, प्रदूषण नियन्त्रण, स्वस्थ खानामा पहुँच, नियमित स्वास्थ्य परीक्षण र धूम्रपान नियन्त्रणजस्ता क्षेत्रमा प्रभावकारी कार्यक्रम आवश्यक रहेको उनले बताए।
विश्व मुटु दिवसका अवसरमा उनले मानिसहरूलाई स्वस्थ जीवनशैली अपनाउन, नियमित स्वास्थ्य परीक्षण गर्न, धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन नगर्न र हृदयाघातका सम्भावित लक्षण देखिएमा तत्काल अस्पताल जान आग्रह गरेका छन्।
हरेक वर्ष २९ सेप्टेम्बरमा विश्व मुटु दिवस मनाइन्छ। विश्व मुटु महासंघको आह्वानमा सन् २००० देखि यो दिवस मनाउन थालिएको हो।