काठमाडौं । आज नोभेम्बर १४ अर्थात् विश्व मधुमेह दिवस । मधुमेह रोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ ।
मधुमेहको जोखिम न्यूनीकरण, रोकथाम, समयमै पहिचान तथा उपचारमा पहुँच विस्तार गर्ने उद्देश्यले प्रत्येक वर्ष नोभेम्बर १४ मा यो दिवस मनाउने गरिन्छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार पछिल्लो एक दशकमा उच्च आय भएका मुलुकको तुलनामा न्यून तथा मध्यम आय भएका देशमा मधुमेहको प्रकोप तीव्र गतिमा बढिरहेको छ । बढी तौल र मोटोपना यसका प्रमुख जोखिम कारकमध्ये रहेका छन् ।
मधुमेह अन्धोपना, मिर्गौला फेल हुने, हृदयाघात, पक्षाघात तथा हातखुट्टा काट्नुपर्ने अवस्थाको प्रमुख कारणमध्ये एक हो । विशेषगरी टाइप–२ मधुमेहको जोखिम स्वस्थ खानपान, नियमित शारीरिक व्यायाम र सुर्तीजन्य पदार्थको सेवन नगर्ने बानीबाट कम गर्न सकिन्छ ।
चिकित्सकहरूका अनुसार समयमै रोग पहिचान, नियमित स्वास्थ्य परीक्षण, औषधोपचार तथा जटिलताको उचित व्यवस्थापनबाट मधुमेहका गम्भीर असर रोक्न वा न्यूनीकरण गर्न सकिन्छ । मधुमेह नियन्त्रणका लागि स्वस्थ जीवनशैली अपनाउनु महत्वपूर्ण रहेको मधुमेह रोग विशेषज्ञ डा. विनय भट्टराईले बताए ।
टाइप–१ मधुमेह छिटो विकसित हुन सक्ने भए पनि टाइप–२ मधुमेह बिस्तारै विकसित हुने र सुरुमा स्पष्ट लक्षण नदेखिन सक्ने भएकाले नियमित स्वास्थ्य परीक्षण आवश्यक हुन्छ ।
डा. भट्टराईका अनुसार मोटोपना भएका व्यक्ति, परिवारमा मधुमेहको इतिहास भएका तथा कोलेस्ट्रोल उच्च भएका व्यक्तिले नियमित रूपमा मधुमेह परीक्षण गराउनुपर्छ । त्यस्तै, ३५ वर्ष उमेर पुगेपछि सबैले नियमित रूपमा मधुमेह परीक्षण गराउनु उपयुक्त हुने उनको सुझाव छ ।
मधुमेहबाट बच्न तथा यसको जोखिम कम गर्न स्वस्थ खानपान, नियमित व्यायाम, तौल नियन्त्रण र समयमै स्वास्थ्य परीक्षणमा ध्यान दिन आवश्यक छ ।