क्यान्सरको जोखिम घटाउन नियमित परीक्षण र स्क्रिनिङमा जोड दिनुपर्छ : डा. झा

क्यान्सरको जोखिम घटाउन नियमित परीक्षण र स्क्रिनिङमा जोड दिनुपर्छ : डा. झा

काठमाडौं । नेपालमा क्यान्सरको जोखिम न्यूनीकरण तथा प्रारम्भिक पहिचानका लागि नियमित स्वास्थ्य परीक्षण र क्यान्सर स्क्रिनिङलाई प्राथमिकता दिनुपर्ने काठमाडौं क्यान्सर सेन्टरका अध्यक्ष डा. अन्जनीकुमार झाले बताएका छन् ।

उनले क्यान्सरको उपचारमा मात्र केन्द्रित हुनुभन्दा रोगको समयमै पहिचान, जोखिम न्यूनीकरण र जनचेतना विस्तारमा जोड दिनुपर्ने बताए । सबै प्रकारका क्यान्सर रोकथाम गर्न सम्भव नभए पनि स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर तथा धूमपानसँग सम्बन्धित फोक्सोको क्यान्सरजस्ता केही क्यान्सरको जोखिम घटाउन सकिने उनको भनाइ छ ।

महिलामा स्तन क्यान्सरको प्रारम्भिक पहिचानका लागि म्यामोग्राम तथा पाठेघरको मुखको क्यान्सरका लागि नियमित स्क्रिनिङ प्रभावकारी बनाउनुपर्ने झाले बताए । कतिपय अस्पतालमा निःशुल्क म्यामोग्राम सेवा उपलब्ध भए पनि अपेक्षाअनुसार महिलाहरू परीक्षणका लागि नआएको उनले उल्लेख गरे ।

“३५ वर्ष र ४० वर्ष कटेका महिलाले म्यामोग्राम गराउनुपर्छ भन्ने विषयमा अझै पर्याप्त जागरुकता छैन,” उनले भने, “सरकारले पनि पाठेघरको मुखको क्यान्सरका लागि स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिरहेको छ । यसलाई प्रभावकारी बनाउन जनचेतना बढाउनुपर्छ ।”

क्यान्सरसम्बन्धी जनचेतना अभियानलाई निरन्तरता दिन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने उनले बताए । क्यान्सरको जोखिम, नियमित परीक्षण र प्रारम्भिक पहिचानका विषयलाई निरन्तर सार्वजनिक बहसमा ल्याउनुपर्ने उनको भनाइ छ ।

समस्या गम्भीर भएपछि मात्र अस्पताल पुग्ने प्रवृत्ति

नेपालमा क्यान्सरका बिरामी बढ्नुका विभिन्न कारणमध्ये ढिलो स्वास्थ्य परीक्षण गर्ने प्रवृत्ति पनि एक कारण रहेको झाले बताए । मानिसले नियमित रूपमा स्वास्थ्य परीक्षण नगर्ने र समस्या गम्भीर भएपछि मात्र अस्पताल पुग्ने गरेका कारण उपचार थप जटिल हुन सक्ने उनले उल्लेख गरे ।

“मानिसले आफ्नो शरीरलाई पनि नियमित रूपमा सर्भिसिङ गर्नुपर्छ । तर हामी समस्या नआएसम्म परीक्षण गर्दैनौँ,” उनले भने, “रोगले च्यापेपछि मात्रै अस्पताल पुग्ने प्रवृत्तिले उपचार जटिल बन्न सक्छ ।”

चिकित्सकसँगै आवश्यक स्वास्थ्य टोली र पूर्वाधार चाहिन्छ

नेपालमा क्यान्सरलगायत जटिल रोगको उपचारका लागि आवश्यक विशेषज्ञ जनशक्ति उपलब्ध भए पनि उनीहरूले काम गर्ने वातावरण, उपकरण र पूर्वाधारमा अझै सुधार आवश्यक रहेको झाले बताए ।

उनका अनुसार कुनै स्वास्थ्य संस्थामा चिकित्सक पठाएर मात्रै प्रभावकारी उपचार सेवा सञ्चालन गर्न सकिँदैन । चिकित्सकसँगै नर्सिङ, फार्मेसी, प्रयोगशाला, रेडियोलोजी तथा आवश्यक उपकरणसहितको स्वास्थ्य टोली उपलब्ध हुनुपर्ने उनले बताए ।

“कुनै ठाउँमा चिकित्सक पठाउने हो भने टिम नै पठाउनुपर्छ । चिकित्सक, नर्सिङ, फार्मेसी, ल्याब र रेडियोलोजी सेवा आवश्यक हुन्छ,” उनले भने ।

प्रयोगशाला, एक्स–रे, सीटी स्क्यान तथा औषधिलगायत आधारभूत सेवा उपलब्ध नभएको अवस्थामा चिकित्सकमाथि मात्र जिम्मेवारी थप्दा प्रभावकारी स्वास्थ्य सेवा दिन कठिन हुने उनको भनाइ छ ।

आवश्यकताका आधारमा महँगा उपकरण राख्नुपर्ने

नेपालमा क्यान्सर उपचार राम्रो हुँदैन भन्ने धारणा र भाष्यका कारण आर्थिक रूपमा सक्षम केही बिरामी उपचारका लागि विदेश जाने गरेको झाले बताए । नेपालमा विशेषज्ञ चिकित्सक र उपचार प्रविधि विस्तार हुँदै गएको उल्लेख गर्दै उनले बिरामीको विश्वास बढाउनुपर्ने आवश्यकता औँल्याए ।

स्वास्थ्य संस्थामा महँगा उपकरण खरिद गर्दा जनसंख्या, बिरामीको चाप र आवश्यकताका आधारमा योजना बनाउनुपर्ने उनको भनाइ छ । प्रत्येक अस्पतालमा सीटी स्क्यान वा एमआरआई अनिवार्य गर्नुभन्दा उपकरणको आवश्यकता र उपयोगिताका आधारमा वितरण तथा व्यवस्थापन गर्नुपर्ने उनले बताए ।

एउटा एमआरआई उपकरणमा ठूलो लगानी आवश्यक पर्ने भएकाले आवश्यकता र उपयोगिताको अध्ययन नगरी हरेक अस्पतालमा उपकरण राख्दा स्रोतको प्रभावकारी उपयोग नहुन सक्ने उनको भनाइ छ ।

स्वास्थ्यमा गरिएको लगानीलाई तत्काल प्रतिफलसँग जोड्न हुँदैन

झाले स्वास्थ्य क्षेत्रमा हुने खर्चलाई तत्काल आर्थिक प्रतिफलका आधारमा मात्र मूल्याङ्कन गर्न नहुने बताए । स्वास्थ्य क्षेत्रमा गरिएको लगानी स्वस्थ जनशक्ति निर्माणका लागि भएको लगानी भएको उनको भनाइ छ ।

“स्वास्थ्य क्षेत्रमा भएको खर्च स्वस्थ जनशक्ति तयार पार्ने खर्च हो । यसलाई किराना पसलको जस्तो आज खर्च गर्‍यो, भोलि कति फाइदा भयो भनेर मात्र हेर्नु हुँदैन,” उनले भने ।

दुई–तीन दिनभित्र क्यान्सरको निदान गर्ने प्रयास

काठमाडौं क्यान्सर सेन्टरले नयाँ बिरामीको रोग पहिचानलाई छिटो बनाउने प्रयास गरिरहेको झाले बताए । नयाँ केसमा दुई–तीन दिनभित्र निदान पूरा गरी त्यसपछि उपचार सुरु गर्ने व्यवस्था मिलाउन प्रयास भइरहेको उनले जानकारी दिए ।

“बिरामी आएपछि दुई–तीन दिनभित्र नयाँ केसको डाइग्नोसिस गर्ने प्रयास गर्छौं,” उनले भने, “रिपोर्ट तयार भएपछि भोलिपल्ट वा पर्सिपल्टबाटै उपचार सुरु गर्न सकिने गरी काम गरिरहेका छौँ ।”

उपचारका क्रममा देखिन सक्ने साइड इफेक्टको व्यवस्थापनसँगै बिरामीका समस्या सुन्ने, नियमित निगरानी गर्ने र आवश्यक परामर्श दिने व्यवस्थालाई पनि केन्द्रले प्राथमिकता दिएको उनले बताए ।

काठमाडौं क्यान्सर सेन्टरलाई अन्य अस्पतालभन्दा राम्रो भएको दाबी नगर्ने स्पष्ट पार्दै झाले बिरामीको छिटो निदान, समयमै उपचारको सुरुवात र उपचार अवधिभरको हेरचाहलाई केन्द्रले प्राथमिकता दिएको बताए ।

क्यान्सरको जोखिम न्यूनीकरणका लागि राज्यले नियमित स्क्रिनिङ कार्यक्रम विस्तार गर्नुका साथै स्वास्थ्य जनशक्ति, आवश्यक पूर्वाधार, उपचार प्रविधि र जनचेतनामा दीर्घकालीन लगानी गर्नुपर्ने उनले बताए ।

लिङ्क सफलतापूर्वक कापि गरियो!