दुई महिनापछि राज्य व्यवस्था समितिको बैठक, आइजीपी हटाउनेदेखि पत्रकार पक्राउ प्रकरणसम्म छलफल हुने

दुई महिनापछि राज्य व्यवस्था समितिको बैठक, आइजीपी हटाउनेदेखि पत्रकार पक्राउ प्रकरणसम्म छलफल हुने

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आगामी मंगलबारका लागि बोलाइएको छ।

समिति सभापति हरि ढकालले बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन्। झन्डै दुई महिनापछि बस्न लागेको बैठकमा गृहमन्त्री सुधन गुरुङसमेत सहभागी हुने तय भएको छ।

बैठकमा समसामयिक सुरक्षा तथा प्रशासनिक विवादका विभिन्न विषयमा छलफल गर्ने कार्यसूची रहेको छ। विशेषगरी नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाइएको प्रकरण र पत्रकार पक्राउ गर्न समाचार कक्षमै प्रहरी पठाइएको घटनाबारे समितिले चासो राखेको छ।

त्यसैगरी, प्रहरीको अनुसन्धानमा रहेको विषयमा प्रधानमन्त्री कार्यालयले देखाएको भनिएको अस्वाभाविक चासो तथा प्रहरी हिरासतमा रहेका इनम सापकोटाको मोबाइल फोन प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनको निवासमा ‘लोकेसन ट्रेस’ भएको भनिएको विवादबारे पनि छलफल हुने बताइएको छ।

यसअघि प्रमुख प्रतिपक्षी दलहरूले विवादित विषयमा छलफल गर्न तत्काल समितिको बैठक बोलाउन माग गर्दै सभापति ढकालसमक्ष औपचारिक पत्र बुझाएका थिए।

विपक्षी दलहरूको निरन्तर दबाब र मागका बाबजुद सभापति ढकालले विगत दुई महिनादेखि बैठक बोलाएका थिएनन्। लामो अन्तरालपछि अन्ततः आगामी मंगलबारका लागि बैठक तय गरिएको हो।

लिङ्क सफलतापूर्वक कापि गरियो!