काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद र समानान्तर गतिविधिलाई लिएर पार्टी नेतृत्वले कडा कदम चाल्ने तयारी गरेको छ । सभापति गगन थापा समूहले पूर्वसभापति शेरबहादुर देउवा पक्षको नेतृत्वमा भइरहेका छुट्टै महाधिवेशन तथा गतिविधिलाई ‘अवैधानिक’ भन्दै त्यसमा संलग्न बहालवाला जनप्रतिनिधिहरूमाथि कारबाही गर्ने तयारी गरेको हो ।
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन सम्पन्न भइसकेको दाबी गर्ने वर्तमान सभापति गगन थापा नेतृत्व र पूर्वसभापति शेरबहादुर देउवा पक्षीय नेताहरूले समानान्तर रूपमा अघि बढाएका सांगठनिक तथा राजनीतिक गतिविधिले पार्टीभित्र विवाद चर्काएको छ ।
रुख चिह्नबाट चुनाव जितेर संसद् तथा स्थानीय तहमा पुगेका, तर वर्तमान नेतृत्वको असहमतिबीच देउवा समूहका समानान्तर गतिविधिमा सक्रिय रहेका जनप्रतिनिधिहरूलाई पदबाट हटाउने तथा कारबाही गर्ने तयारी अघि बढाइएको छ ।
दलको आन्तरिक अनुशासन र वैधानिकताको प्रश्न उठाउँदै सभापति थापाले गत मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा स्पष्ट सन्देश दिइसकेका छन् ।
गत असोजमै पार्टीको १५औँ केन्द्रीय महाधिवेशन विधिवत् रूपमा सम्पन्न भइसकेको अवस्थामा पुनः अर्को समानान्तर महाधिवेशन वा गतिविधिलाई पार्टीले स्वीकार नगर्ने उनको अडान छ । सभापति थापाले देउवा पक्षका गतिविधिलाई नेपाली कांग्रेसको आधिकारिक गतिविधि नभई ‘नयाँ पार्टी’ को संज्ञा दिएका छन् ।
कांग्रेसको चुनाव चिह्न रुखबाट निर्वाचित भएका, तर पार्टीको आधिकारिक निर्णय र वैधानिकतालाई चुनौती दिँदै समानान्तर समूहमा सक्रिय रहेका राष्ट्रिय सभा, प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहका जनप्रतिनिधिहरूमाथि कारबाही गर्ने निष्कर्ष पार्टी नेतृत्वले निकालेको छ ।
यसैको परिणामस्वरूप जारी केन्द्रीय समिति बैठकले विशेष अनुशासन समिति गठन गर्ने र देउवा पक्षमा खुलेका जनप्रतिनिधिहरूलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ ।
उनीहरूले पेस गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएमा वा पार्टी नेतृत्वको निर्देशनअनुसार पदबाट राजीनामा नदिएमा पार्टी विधान तथा प्रचलित कानुनअनुसार पदमुक्त गर्न सम्बन्धित निकायमा आधिकारिक परिपत्र गर्ने रणनीति कांग्रेस नेतृत्वले लिएको छ ।
जनप्रतिनिधिहरूमाथि राजनीतिक कारबाही तथा पद रिक्त गराउने प्रक्रियाको कानुनी आधार नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन र दलको आन्तरिक विधानमा व्यवस्था गरिएको छ ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३१ ले दल त्यागसम्बन्धी व्यवस्था गरेको छ । उक्त दफाको उपदफा (१) अनुसार संघीय संसद्, प्रदेश सभा वा स्थानीय तहको सदस्य जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो, पदावधि कायम रहेसम्म त्यस्तो दल त्याग गर्न सक्ने छैन ।
कुनै सदस्यले दलको विधान, नीति वा निर्देशनविरुद्ध गएर औपचारिक रूपमा दल त्याग गरेमा वा अर्को राजनीतिक दलमा आबद्ध भएमा निज निर्वाचित भएको पद दल त्याग गरेको मितिबाट स्वतः रिक्त हुने कानुनी व्यवस्था रहेको छ ।
यही कानुनी व्यवस्थालाई आधार बनाएर कांग्रेसको केन्द्रीय अनुशासन समितिले सम्बन्धित जनप्रतिनिधिहरूलाई स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआएमा दल त्याग गरेको ठहर गर्दै संसद् सचिवालय, निर्वाचन आयोग वा सम्बन्धित निकायलाई जानकारी गराउने तयारी गरेको छ ।
पार्टीले कुनै सदस्य वा जनप्रतिनिधिले दल त्याग गरेको आधिकारिक जानकारी सम्बन्धित निकायमा पठाएपछि कानुनबमोजिम पद रिक्त हुने प्रक्रिया अघि बढ्ने व्यवस्था छ ।
कांग्रेसभित्र बढ्दो ध्रुवीकरण र कारबाहीको तयारीले देउवा समूहमा लागेका संघीय, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरूको राजनीतिक भविष्य अन्योलमा परेको छ । एकातर्फ आफ्नो राजनीतिक नेता तथा समूहप्रति निष्ठा कायम राख्नुपर्ने अवस्था र अर्कातर्फ पार्टीको आधिकारिक कारबाही तथा पद गुम्ने जोखिमबीच उनीहरू दबाबमा परेका छन् ।