मणिपुरमा विषाक्त मदिरा सेवनबाट ११ जनाको मृत्यु, १५० भन्दा बढी अस्पतालमा

मणिपुरमा विषाक्त मदिरा सेवनबाट ११ जनाको मृत्यु, १५० भन्दा बढी अस्पतालमा

काठमाडौं । भारतको मणिपुरस्थित चन्देल जिल्लामा विषाक्त मदिरा सेवन गरेको आशंकामा बितेका तीन दिनमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। घटनामा १५० भन्दा बढी बिरामी परेका छन्, उनीहरूको इम्फालका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रशासनका अनुसार चकपिकारोङ उपमण्डल र आसपासका क्षेत्रमा विषाक्त मदिरासँग सम्बन्धित धेरै शंकास्पद घटना सार्वजनिक भएका छन्। बिरामी परेका अधिकांशलाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको छ।

जिल्लाका एक अधिकारीले बीबीसी न्युज हिन्दीलाई बताएअनुसार नोभेम्बर १८ मा उक्त क्षेत्रमा विषाक्त मदिरा सेवनसँग सम्बन्धित मृत्युका धेरै घटना सार्वजनिक भएका थिए। त्यसपछि पनि मृत्यु हुने क्रम जारी रहेको थियो।

चन्देलका प्रहरी अधीक्षकले जारी गरेको आधिकारिक विज्ञप्तिमा सुरुमा आठ जनाको मृत्यु भएको पुष्टि गरिएको थियो। पछि मृतकको संख्या बढेर ११ पुगेको हो।

यसैबीच, चन्देलका जिल्ला उपायुक्तले जारी गरेको सूचनामा चकपिकारोङ उपमण्डल र आसपासका क्षेत्रमा मिसावटयुक्त मदिरा सेवनबाट मृत्यु भएका घटनालाई ध्यानमा राख्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ।

जिल्ला प्रशासनले घटनाको अनुसन्धान भइरहेको जनाएको छ। मृत्युको वास्तविक कारण पत्ता लगाउनुका साथै क्षेत्रमा मदिरा भित्र्याउने व्यक्तिहरूविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको छ।

यसैबीच, मणिपुरका मुख्यमन्त्री युमनाम खेमचन्द सिंहले बिहीबार इम्फाल पश्चिमस्थित शिजा अस्पताल तथा अनुसन्धान संस्थान र इम्फाल पूर्वस्थित बाबिना अस्पताल पुगेर उपचाररत बिरामीहरूको अवस्थाबारे जानकारी लिएका छन्।

मुख्यमन्त्रीले बिरामीहरूलाई सरकारका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने आश्वासन दिएका छन्। साथै, घटनामा संलग्न दोषीहरूको पहिचान गरी चाँडै पक्राउ गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन्।

 
 
लिङ्क सफलतापूर्वक कापि गरियो!