होर्मुज जलमार्गमा माइनमा ठोक्किएर तेल ट्यांकरमा विस्फोट र आगलागी

 होर्मुज जलमार्गमा माइनमा ठोक्किएर तेल ट्यांकरमा विस्फोट र आगलागी

काठमाडौं । ओमानको खासाब बन्दरगाह प्रवेश गर्ने क्षेत्रमा नौसैनिक माइनमा ठोक्किएपछि एउटा तेल ट्यांकर विस्फोट भएर आगलागी भएको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) को नौसेनाले जनाएको छ।

शुक्रबार जारी विज्ञप्तिमा ट्यांकर अमेरिकी सेनाको सहयोगमा होर्मुज जलमार्गको अनधिकृत मार्ग हुँदै पार गर्ने प्रयासमा रहेका बेला माइनमा ठोक्किएको दाबी गरिएको छ। आईआरजीसीको आधिकारिक सञ्चारमाध्यम सेपाह न्युजमार्फत सार्वजनिक विज्ञप्तिमा नौसेनाले उक्त जानकारी दिएको हो।

नौसेनाले होर्मुज जलमार्ग र खाडी क्षेत्रमा अनुमति नलिई हुने जहाजको आवागमन आफ्नो निगरानीबाट उम्कन नसक्ने चेतावनी दिएको छ। ट्यांकर माइनमा ठोक्किनुमा जलमार्गसम्बन्धी नियम उल्लंघन, अनधिकृत मार्गको प्रयोग तथा अमेरिकी सेनाले फैलाएको भनिएको गलत सूचनामा विश्वास गर्नु जिम्मेवार रहेको आरोप पनि उसले लगाएको छ।

यसअघि फेब्रुअरी २८ मा इरानको भूभागमा अमेरिका र इजरायलले संयुक्त आक्रमण गरेपछि इरानले होर्मुज जलमार्गमा आवागमन नियन्त्रण कडा बनाएको थियो। इरानले अमेरिका र इजरायलसँग सम्बन्धित वा उनीहरूको स्वामित्वमा रहेका जहाजलाई सुरक्षित आवागमनको अनुमति नदिने घोषणा गरेको थियो।

 
 
 
लिङ्क सफलतापूर्वक कापि गरियो!