काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा समाचार सङ्कलन तथा सम्प्रेषणका लागि नेपालका विभिन्न सञ्चारमाध्यमका २६ पत्रकार सहभागी हुने भएका छन् ।
भ्रमणमा सहभागी पत्रकारलाई समाचार सङ्कलनका लागि सरकारले आवश्यक सहजीकरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणलाई पारदर्शी, व्यवस्थित र सूचनामैत्री बनाउने उद्देश्यले सरकारी सञ्चारमाध्यमका तर्फबाट नेपाल टेलिभिजन, गोरखापत्र दैनिक र राष्ट्रिय समाचार समिति (रासस)बाट एक–एक जना पत्रकार सहभागी हुनेछन् । यसैगरी, निजी तथा मूलधारका सञ्चारमाध्यमको प्रतिनिधित्व गर्दै २३ जना पत्रकार भ्रमणमा जाने भएका छन् ।
निजी सञ्चारमाध्यमबाट सहभागी हुने पत्रकारले नेपाल–भारत आवतजावतको हवाई टिकट तथा होटल बसाइको खर्च आफैँ बेहोर्नुपर्ने सरकारले जनाएको छ । भ्रमणमा सहभागी हुने पत्रकारमध्ये कान्तिपुर मिडिया हाउसबाट अनिल गिरी, नयाँ पत्रिकाबाट परशुराम काफ्ले, अनलाइनखबरबाट दुर्गा खनाल, रातोपाटीबाट मधुसुधन भट्टराई, बाह्रखरीबाट बलराम पाण्डे, नेपालखबरबाट पूर्ण बस्नेत, नेपाल भ्युजबाट सीताराम बराल, देश सञ्चारबाट युवराज घिमिरे र काठमाडौं पार्टीबाट रोशन खड्कालगायत रहेका छन् ।
भारत पुगेपछि पत्रकारलाई नेपाली राजदूतावास तथा भारतको विदेश मन्त्रालयको समन्वयमा स्वागत, आन्तरिक यातायात, भोजन तथा रिपोर्टिङ स्थलसम्म पुग्ने व्यवस्था मिलाइने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । पत्रकारको सहजताका लागि सिमकार्डसमेत उपलब्ध गराइनेछ ।
यसपटकको भ्रमणमा निजी सञ्चारमाध्यमका पत्रकारलाई समाचार सङ्कलनका लागि विगतको तुलनामा फराकिलो पहुँच उपलब्ध गराइने भएको छ । कूटनीतिक गोपनीयता कायम गर्नुपर्ने तथा अति संवेदनशील कार्यक्रमबाहेक प्रायः सबै औपचारिक कार्यक्रममा निजी सञ्चारमाध्यमका प्रतिनिधिको प्रत्यक्ष सहभागिता रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय, नयाँ दिल्लीस्थित नेपाली राजदूतावास र भारतको विदेश मन्त्रालयको संयुक्त पहलमा पत्रकारका लागि उक्त व्यवस्था मिलाइएको हो ।
प्रधानमन्त्री शाहकी मिडिया व्यवस्थापन संयोजक दीपा दाहाल तथा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीलगायतको टोलीले भ्रमणमा सहभागी हुने पत्रकारलाई यात्राको तयारी, कूटनीतिक मर्यादा तथा रिपोर्टिङ सहजीकरणबारे शुक्रबार परराष्ट्र मन्त्रालयमा सामूहिक ब्रिफिङसमेत गरेको छ ।